किप्याड मोबाइलले खोल्यो गोलीकाण्डको यस्तो रहस्य ?
प्यूठान । चैत २९ गते प्यूठानमा भएको गोलीकाण्डमा घटनास्थलमा फेला परेको एउटा साधारण किप्याड मोबाइलले अभियुक्तको पहिचान खुल्न सहयोग गरेको प्रहरीले जनाएको छ।
पुरानो डिजाइनको उक्त मोबाइल गौमुखी गाउँपालिका-४ सुंगुरखालस्थित चुपाल सामुदायिक वनमा गोली चलेको स्थानमा भेटिएको थियो।
त्यो रात करिब ११ बजे भरूवा बन्दुकबाट भएको गोली प्रहारमा नौंबहनी गाउँपालिका-४ का १९ वर्षीय सुशील परियारको मृत्यु भएको थियो। गोली उनको टाउको र काँधको पछाडि भागमा लागेको थियो।
सोही घटनामा १८ वर्षीया किशोरी घाइते भएकी छन् र उनको उपचार लुम्बिनी सिटी अस्पताल, बुटवलमा भइरहेको छ।
प्यूठानका प्रहरी प्रमुख डिएसपी नरहरि अधिकारीका अनुसार घटनास्थलमा भेटिएको मोबाइलमा लगातार कल आइरहेको थियो। सोही आधारमा अनुसन्धान अघि बढाइएको थियो।
फोन विवरण ट्रेस गर्दा मोबाइल गौमुखी गाउँपालिका-४ खलाबाङका २७ वर्षीय विक्रम केसीको भएको पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रहरीसँगको सोधपुछमा केसीले शिकार खेल्न जंगल गएको र झाडी हल्लिएको आवाज सुनेपछि जंगली बँदेल ठानेर गोली चलाएको स्वीकार गरेका छन्।
उनले गोली लागेपछि डराएर भाग्दा मोबाइल घटनास्थलमै छुटेको बयान दिएका छन्।

प्रहरीले घटनामा प्रयोग भएको भरूवा बन्दुकसहित थप एक थान पुरानो नाले बन्दुक पनि बरामद गरेको छ। घटनामा संलग्न अन्य तीन जनालाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
मृतकका परिवारले ज्यानसम्बन्धी कसुरमा उजुरी दिएपछि चारै जनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।
