`

मुस्ताङ भन्सारमा पाँच अर्ब ७३ करोड बढी राजस्व सङ्कलन

Nepal One HD ३ वैशाख २०८३ २१:२२
अर्थ समाचार

मुस्ताङ। नेपाल-चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पाँच अर्ब ७३ करोड ६१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

चालु आवको ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको मुस्ताङ भन्सार कार्यालयले सात महिनाको अवधिमा उक्त राजस्व सङ्कलन गरेको हो ।

उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट सात महिनाको अवधिमा रु १२ अर्ब २२ करोड ७६ लाख बराबरको मालवस्तु चीनतर्फबाट आयात भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिनुभयो । यसैगरी नेपालबाट रु २० करोड ५५ लाख बराबरको मालवस्तु चीनतर्फ निर्यात भएको उहाँले बताउनुभयो ।

गत साउन र भदौमा रसुवागढी र तातोपानी भन्सार कार्यालय बाढीपहिरोका कारण बन्द हुँदा यहाँको कोरला नाकाबाट आयात÷निर्यातमा उभार आए पनि पछिल्लो समय यहाँको भन्सारबाट आयात÷निर्यातको परिमाण घटेको भन्सार प्रमुख खड्काले उल्लेख गर्नुभयो ।

यहाँको कोरलास्थित मुस्ताङ भन्सार कार्यालयबाट सात महिनाको अवधिमा कोरला नाका हुँदै चीनबाट आयात गरिएका कुल दुई हजार ३४७ वटा विद्युतीय इलेक्ट्रोनिक (इभी) सवारीसाधनको भन्सार जाँचपास भएको छ ।

यसैगरी, चीनबाट नेपाल भित्रिएका एक हजार ८१८ वटा मालवस्तु ढुवानी गरिएका कन्टेनरहरुको भन्सार जाँचपास भएको हो । नेपालबाट स्वदेशी उत्पादन तथा हस्तकलाका सामग्री लोड गरिएका १३७ वटा मालवाहक कन्टेनरहर मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भएको कार्यालय प्रमुख खड्काले जानकारी दिनुभयो ।

कोरलानाका पूर्ण रूपमा सञ्चालनमा आएपछि यहाँको मुस्ताङ कार्यालयमा आयातनिर्यातको कारोबार चलाएमान भएको थियो । कोरलानाका हुँदै नेपालका व्यापारिक कम्पनीहरूले चीनबाट विद्युतीय सवारीसाधनका साथै लत्तापकडा, कस्मेटिक सामान र इलेक्ट्रोनिक उपकरण आयात गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *