`

‘एक सुन्दरी वेश्या प्रति’

Nepal One HD ४ वैशाख २०८३ १६:०३
फिचर

म स्वप्निंदो छु उर्वशी, जिलाउँदो छु मेनका ! 

मलाई दिव्य कामिनीको तिर्सना अनन्त छ ! 

म मत्तमा ! म मस्तमा ! मलाई प्यास सुन्दर !

म अड्छु ! फुल्छु, हेर्छु रे ! मनुष्य पुष्प फर्फर !

 

इशार, फुल्छ चित्त यो ! पुकार, चल्छ छाति यो ! 

म मासुको गुलाफको मिठास के गरी? भूलूँ 

निसर्गको छ ऐन यो ! छ कृष्णलाई चैन यो ! 

समाधि मग्न शम्भुको प्रकोपवादको खुशी ! 

 

म दीपको पतङ्गको उडान निम्ति वार के ! 

यही त ब्रह्मपाश हो ! र बाँधिने मिठास हो ! 

यही चकोर प्यास हो ! हुनाको मात, आश हो !

म पौडिने तरङ्ग हो ! म मस्तिने सुवास हो ! 

 

‘सुटुक्क झट्ट आ !’ भनी रुमाल फर्फराउँछयौ ? 

कटाक्ष तीक्ष्ण लाउँछउौ ? सवाल मौन ल्याउँछयौ ? 

यहीं छ द्धार, देख्छु है ! ए पर्ख ! क्यै निरख्छु है ! 

म देख्छु छूत मृत्युको ! त्यो चोइटो खसेछ है !

 

यहाँ त मृत्यु देखिनै हुँदैन रे तिमी जहाँ ! 

न हाँस ! कालको कथा कता कता सुनिन्छ है ! 

तिमी नजीक काल के ? म कालसाथ लड्दछु !

तिमी भिडाउ सुन्दरी ? म मृत्यु साथ भिड्दछु ! 

 

उषा थिइन्, जली मरिन्! सुवर्ण साँझ अल्पिइन् 

न आँशु, हुन्, न तारका, वितान झल्झलाउँछ ! 

न देखिने खुँडा लिने मलाई क्वै सताउँछ ! 

कुचाल मार्छ सुस्तरी ममा प्रहार गर्न ए !

 

प्रसूनसाथ रोइनौ ? निशाग्र दृष्टि धोइनौ ? 

र पुत्तली पखेरुका सुवर्ण धूल छोइनौ ? 

सुचारु साँझ जल्दथिन्, तिनी अगाडि रोइनौ ? 

गलेर चाँदनी कणी, जली, ढली, थपोइनौ ?

 

म मार्छु मृत्यु सुन्दरी ! म क्रोधमा छु ! मार्न द्यौ ! 

विनाश चाल मार्छ रे ! म रोक्छु गर्व झर्न द्यौ !

म फूल झर्न दिन्न रे ! म रङ्ग उड्न दिन्न रे ! 

अहा ! यो मुस्कुरी पला अमोल हिँडन दिन्न रे ! 

 

तँ वैंश ! अड ! नमर् ! नमर् ! म गाउँला सदा ! सदा !

सुरा न सिद्धियोस् परी ! नशा भरी, र प्यास होस्!

तँ झ्यालको न नाश होस्! तँ दृष्टि नित्य दास होस् !

झकाइ, यो अटूट होस् ! तिमी, सदा निमन्त्रणा !

 

ए चन्द्रमा ! कला नफेर्! तँ मेघ हे ! नजा नघेर्! 

तँ पोज बस्! तँ ओठ जी ! ‘मुसुक्क !’ मर्त्यता नवर् ! 

तँ नूर हो स्थिरप्रभा ! यहाँ छ कामिनीशिखा

धधग धधग ज्वलन्त जो, तँ चित्त ! नित्य धग्धगा !

 

 निचोर सृष्टिकी तिमी सजीव कामिनी बन्यौ !

तिमी, ममा छ विश्वको त फ्याक, फ्याक रे मुटु ! 

तिमी, म साथ चल्छ यो ! तिमी, म साथ फुल्छ यो ! 

हिमाल सम्झ पार्वती ! रसालकुञ्ज, राधिके !

 

अचम्म ! छौ बजारमा ? यहाँ कसोरि छौ तिमी ?

विशाल सृष्टि–वल्लरी प्रफल्ल एक पुष्प ए ?

म सोध्छु ए ! विचित्रकी तरङ्ग ! वृत्ति–बावली !

मभित्र बज्छ बाँसुरी, मिहीन औ पुरानिया ! 

 

म पूर्ण आफू दिन्छु हे ! जुहारलाई ज्यान् होस !

मुहारलाई प्राण होस् ! मिटान निम्ति शान होस्!

म दिन्न अंशदान ए ! म सिंगुलै चढाउँछु !

नमाग यत्ति मात्र रे ! म आउँदो छु ! धाउँछु !

 

तिमी त सृष्टिधूलिका, मिले म विश्व रच्दछु !

विशाल सूनसान नै बसाउनेछु सुन्दरी !

कुँदेर चन्द्रखण्ड यो अपूर्व शिल्पकारले

छ मर्नु ! यत्ति मोलमा बिक्यौ भने प्रभावकारी !

 

बुझें ! बनेर व्यङ्ग्यकी विशालता तिमी बस्यौ

बजारमा समाजको, गिज्याइ आजको मुख ?

जहाँ छ साँढे स्वार्थको सुचारु पुष्पभक्षक !

जहाँ छ राज्य मासुको र आँशुको जलाशय !

 

छ कीट लुब्ध पुष्पमा ! विनाशसार प्यार छ !

ठगी, अपूर्व रुपको ! र नोटको बजार छ !

चुरो किनिन्छ मानवी ! गरीबमाथि मार छ !

जहाँ समाज नामको कुनर्कको मुहार छ !

 

 समानता अजीव छन् जहाँ, र ढ्वाँग सार छ !

अहा ! बनेर व्यङ्ग्यकी प्रदीपिका जल्यौ तिमी !

तिमी मनुष्य मातृका ! तिमी सुधा ! तिमी क्षुधा !

विशाल विश्वदीपिका तिमी ! तमोमयी तृषा ?

 

यो लात हो विरिञ्चीमा ! यो सृष्टिमाथि लाञ्छना !

निसर्गको प्रवञ्चना ! यो दागदीप आजको ?

विशाल व्यङ्ग्य, व्यङ्ग्य हो ! समाजको समाजको !

प्रकोपमूर्छिता चिता ! कराल सुन्दरी तिमी !

 

निशुम्भ, शुम्भ डाक्तछयौ ? प्रचण्ड, चण्ड, मुण्ड के ?

लगाइ रुण्ड मुण्ड के ! छछम्! छछम्! धिधिक्! धिधिक्!

धपक्क बल्न इच्छियौ? जमीन डग्डगाउँदै ?

ए व्यङ्ग्य ! व्यङ्ग्य नै बनी गिगिल्ल, हाँस झ्यालमा ! 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *