योजनाबद्ध झुटा मुद्दाबाट चरित्रहत्या नगर्न महेश बस्नेतकाे सरकारलाई चेतावनी
काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले आफ्नो राजनीतिक तथा सामाजिक जीवन समाप्त गर्ने उद्देश्यले आफूविरुद्ध योजनाबद्ध रूपमा झुटा मुद्दा दर्ता गरिएको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले २०८० फागुन ९ गते दर्ता गरिएको गम्भीर प्रकृतिको मुद्दामा काठमाडौं प्रहरी र सरकारी वकिल कार्यालयले अनुसन्धानपछि आरोप भ्रामक ठहर गर्दै तामेलीमा राखेको बताएका छन्। सो निर्णयविरुद्ध परेको रिटसमेत उच्च अदालत पाटनले खारेज गरेपछि आफूले सफाइ पाएको उनको भनाइ छ।
‘काठमाडौं प्रहरी सरकारी ओकिल कार्यालयले विस्तृत अनुसन्धान गरी आरोप भ्रामक र कपोलकल्पित भएको ठहर गर्दै मुद्दा तामेलीमा राख्यो’, उनले लेखेका छन्, ‘सो निर्णयविरुद्ध उच्च अदालत पाटनमा मिति २०८१/०१/०४ मा रिट दर्ता भएर मिति २०८१/०५/२६ मा रिट निवेदन खारेज भई तामेली सदर भयो र मैले सफाइ पाएँ।’
बस्नेतका अनुसार त्यसपछि पुनः पूरक जाहेरी दर्ता गरिए पनि पर्याप्त प्रमाण नभएको भन्दै सरकारी वकिल कार्यालयले मुद्दा अघि नबढाउने निर्णय गरेको र सो विरुद्धको रिट पनि खारेज भएको छ। तर पुनः तेस्रोपटक नयाँ आधार देखाएर जाहेरी दर्ता गरिनु आफूलाई फसाउने प्रयास भएको उनले दाबी गरेका छन्।
‘यति हुँदाहुँदै पनि तेस्रो पटक मिति २०८२/ चैत्र १६ गते गुगल फोटोबाट भेटे भनेर मनमोहन अस्पतालको एउटा हद म्याद नागेको अल्ट्रासाउन्ड रिपोर्टलाई गर्भ पतन गराएको भनि आधार बनाई पुनः जाहेरी दर्ता गरी पक्राउ पुर्जी माग गरियो’, उनले अगाडि थपे।
बस्नेतले एउटै विषयमा पटक पटक मुद्दा दर्ता गर्नु कानुनी र प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको उल्लेख गर्दै सरकारसँग यस्ता गतिविधि रोक्न ध्यानाकर्षण गराएका छन्।
बस्नेतले लेखेका छन्, ‘प्रत्येक व्यक्तिको कानुनी अधिकार र मानवअधिकार संरक्षण गर्नु सरकारको दायित्व तसर्थ यस्ता गतिविधि रोक्न सरकारसँग गम्भीर ध्यानाकर्षण गराउँछु।’
साथै, आफ्ना समर्थकहरूमाथि पनि पक्राउ पुर्जी जारी गरिएको भन्दै उनले त्यसलाई ‘राज्य आतंक’ को संज्ञा दिएका छन्।
