भैरवकुण्ड: धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिएको उदीयमान पर्यटकीय गन्तव्य(तस्बिरहरु)
रसुवा। भैरवकुण्ड धार्मिक आस्था, सांस्कृतिक महत्व र प्राकृतिक सौन्दर्यका कारण पछिल्लो समय प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। भोटेकोशी गाउँपालिकाको शिर क्षेत्रमा अवस्थित यो कुण्ड हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र मानिन्छ। विशेषगरी शेर्पा समुदायले यसलाई ‘आमा छयूमेन’का रूपमा पूजा गर्ने परम्परा छ।
समुद्री सतहबाट ४,१२४ मिटर उचाइमा रहेको भैरवकुण्ड, ६,५६७ मिटर उचाइको फुर्वी घ्याचु भञ्ज्याङको फेदीमा अवस्थित छ। करिब ८४ हजार १९३ वर्गमिटर क्षेत्रफलमा फैलिएको यो विशाल तालले प्राकृतिक रूपमा अद्भुत दृश्य प्रस्तुत गर्छ। भैरवकुण्डभन्दा केही तल नेपालकै दोस्रो अग्लो भैरवकुण्ड छहरा रहेको छ, जसको उचाइ १९८ मिटर छ। ताल र छहराको संयोजनले यहाँको प्राकृतिक आकर्षणलाई अझ बढाएको छ। साथै, नजिकै देखिने जुगल हिमशृङ्खलाले पर्यटकलाई झनै मोहित बनाउने गर्दछ।
भैरवकुण्ड पुग्न भने सहज छैन। अरनिको लोकमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिकाको लार्चाबाट उकालो र कठिन पदमार्ग हुँदै करिब दुई दिनको पैदल यात्रापछि मात्र त्यहाँ पुग्न सकिन्छ। बाटोमा स्थानीय बासिन्दाको घर तथा होमस्टेमा बस्न र अर्गानिक परिकारको स्वाद लिन पाइन्छ। यात्राका क्रममा शेर्पा समुदायको संस्कृति, भेषभूषा र जीवनशैली नजिकबाट अवलोकन गर्ने अवसर समेत मिल्छ।
धार्मिक मान्यताअनुसार भैरवकुण्ड भगवान् शिव र पार्वतीको वासस्थान मानिन्छ। भैरवलाई शिवको उग्र रूपका रूपमा पूजिने गरिन्छ। जनैपूर्णिमाको अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्दछ, जहाँ हजारौँ भक्तजन दर्शन तथा स्नानका लागि पुग्ने गर्दछन्। ‘जे माग्यो, त्यही पूरा हुन्छ’ भन्ने जनविश्वासका कारण पनि यहाँ तीर्थालुहरूको आकर्षण उच्च छ।
धार्मिक महत्वसँगै प्राकृतिक सौन्दर्यले भरिपूर्ण भैरवकुण्ड विदेशी पर्यटकका लागि पनि आकर्षणको केन्द्र बनेको छ। युरोप, अमेरिका, जापान लगायत विभिन्न देशबाट आउने पर्यटकहरू यहाँको दृश्य अवलोकनका लागि एक हप्तादेखि एक महिनासम्म बस्ने गरेका छन्। उनीहरू प्रायः टेन्ट र आवश्यक सामग्री बोकेर आउने गरेका छन् भने स्थानीय होटल तथा घरमा पनि बासको सुविधा उपलब्ध छ।
कठिन यात्रा भए पनि त्यहाँ पुगेर प्राप्त हुने प्राकृतिक र आध्यात्मिक अनुभवले सबै थकान भुलाइदिने भएकाले भैरवकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन क्रमशः बढ्दै गएको स्थानीयहरूको भनाइ छ।
















