`

सीपमार्फत विपन्नलाई उद्यमसँग जोड्दै शुक्लाफाँटा नगरपालिका

Nepal One HD १७ जेठ २०८३ २२:०१
विश्व

कञ्चनपुर। स्थानीय साधनस्रोतको उपयोग गर्दै न्यून आय भएका समुदायलाई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले शुक्लाफाँटा नगरपालिकाले ‘एक वडा-एक उद्यम’ कार्यक्रम सञ्चालन गरेको छ ।

नगरले परम्परागत सीपलाई आधुनिक बजारको मागसँग जोड्दै आयआर्जन र रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कार्यक्रम अगाडि बढाएको हो ।

नगरपालिकाको उद्यम विकास शाखामार्फत प्रत्येक वडामा सीपमूलक तालिम सञ्चालन गर्न रु दुई लाखका दरले बजेट विनियोजन गरी दक्ष प्रशिक्षकबाट तालिम प्रदान गरिएको उद्यम शाखाका प्रमुख धनबहादुर चौधरीले बताउनुभयो ।

उहाँका अनुसार वडा नं १ मा बेसार प्रशोधन, वडा नं २ मा दुनाटपरी निर्माण, वडा नं ३ मा सिन्की तथा अचार उत्पादन, वडा नं ४ मा लोपोन्मुख समुदायका परम्परागत पोशाक निर्माण, वडा नं ५ मा सिमेन्ट टायल उत्पादन, वडा नं ६ मा दुनाटपरी निर्माण, वडा नं ८ मा काष्ठकला, वडा नं ९ मा गड्यौँला मल उत्पादन, वडा नं १० मा गुन्द्री बुन्ने तथा वडा नं ११ मा दुनाटपरी निर्माणसम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

वडा कार्यालयले स्थानीय आवश्यकता र सम्भावनाका आधारमा कार्यक्रम छनोट गरी प्रस्ताव गरेपछि सोहीअनुसार तालिम सञ्चालन गरिएको शाखाका प्रमुख चौधरीले जानकारी दिनुभयो । तालिम प्राप्त सहभागीलाई सङ्गठित गरी घरेलु तथा लघुउद्यम स्थापना गर्ने योजनासहित नगरपालिका अघि बढेको उहाँको भनाइ छ ।

उद्योग तथा व्यवसाय सञ्चालन गर्न इच्छुक व्यक्तिलाई आवश्यक प्राविधिक सहयोगसँगै औजार तथा उपकरणसमेत अनुदानमा उपलब्ध गराउने तयारी गरिएको चौधरीले बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको सहभागिता रहेको छ । नगरपालिकाका अनुसार हालसम्म विभिन्न तालिममार्फत १२० जना प्रत्यक्ष लाभान्वित भएका छन् ।

नगरपालिकाले स्थानीयस्तरमा उपलब्ध स्रोत, सीप र कच्चा पदार्थलाई उत्पादनसँग जोडेर रोजगारी सिर्जना गर्ने तथा वैदेशिक रोजगारको विकल्पका रूपमा स्वरोजगार प्रवद्र्धन गर्ने लक्ष्य लिएको जनाएको छ ।

स्थानीय तहले सञ्चालन गरेको यस कार्यक्रमले परम्परागत सीपको संरक्षणसँगै आर्थिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *