डाक्टरहरुलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
काठमाडौं। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण बिना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ। काउन्सिलका रजिष्ट्रार डा. शतिशकुमार देवले टिकटक, फेसबुक र इन्स्टाग्रामजस्ता प्लेटफर्ममार्फत उपचारसम्बन्धी सल्लाह तथा औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्न आग्रह गरेका छन्।
काउन्सिलले ‘अनलाइन परामर्श’का नाममा सामाजिक सञ्जालबाट स्वास्थ्यसम्बन्धी श्रव्यदृश्य सामग्री सार्वजनिक नगर्न पनि चिकित्सकलाई निर्देशन दिएको छ। बिरामीसँग सम्बन्धित भिडियो वा सामग्री सार्वजनिक गर्ने, औषधि प्रयोग गर्न सुझाव दिने जस्ता कार्य नगर्न अनुरोध गरिएको छ।
काउन्सिलका अनुसार परीक्षण बिना दिइने औषधि सिफारिस र अवैज्ञानिक सल्लाहले सर्वसाधारणलाई भ्रममा पार्ने र स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने जोखिम हुन्छ।
रजिष्ट्रार डा. देवले स्वास्थ्य सेवा संवेदनशील क्षेत्र भएकाले प्रत्यक्ष परीक्षण र चिकित्सकीय मूल्याङ्कन बिना औषधि प्रयोग गर्न सिफारिस गर्नु खतरनाक हुन सक्ने बताएका छन्।
काउन्सिलले बिरामीलाई पनि सामाजिक सञ्जालमा देखिएका अप्रमाणित सल्लाहको आधारमा औषधि प्रयोग नगरी योग्य चिकित्सकसँग मात्र परामर्श गर्न आग्रह गरेको छ। साथै बिरामीको पहिचान खुल्ने गरी सामग्री सार्वजनिक नगर्न पनि निर्देशन दिएको छ।
