चक्रपथ दोस्रो खण्ड विस्तार अझै अलपत्र, स्थानीयवासी धुलो र हिलोको मारमा(तस्बिरहरु)
काठमाडौं। काठमाडौंको चक्रपथको दोस्रो खण्ड (कलंकी-महाराजगञ्ज) विस्तारका लागि नेपाल र चीनबीच सम्झौता भएको लामो समय बितिसक्दा पनि निर्माण कार्य अघि बढ्न सकेको छैन। काम सुरु नहुँदा यस क्षेत्रमा बसोबास गर्ने स्थानीयवासी वर्षायाममा हिलो र हिउँदमा धुलोको समस्या झेल्न बाध्य छन्।
यस खण्ड विस्तारका लागि २०७५ सालमै नेपाल र चीनबीच सम्झौता भएको थियो। दुई देशका प्रतिनिधिबीच सडक विस्तारमा सहयोगसम्बन्धी पत्रमा हस्ताक्षर गरिएको थियो, जसमा ८.२ किलोमिटर लामो कलंकी-महाराजगञ्ज खण्ड समेटिएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा जारी गरिएको १२ बुँदे संयुक्त वक्तव्यमा समेत काठमाडौँ चक्रपथ सुधार परियोजनाको दोस्रो चरण कार्यान्वयन गर्ने सहमति दोहोर्याइएको थियो। तर, त्यसपछि पनि मुख्य निर्माण कार्यले गति लिन सकेको छैन।
हालसम्म कलंकीदेखि महाराजगञ्जसम्म सर्भिस लेन निर्माणको काम आंशिक रूपमा अघि बढाइएको भए पनि मुख्य सडक विस्तार भने अझै अन्योलमै छ। निर्माणमा ढिलाइ हुँदा दैनिक आवागमन प्रभावित भएको छ भने स्थानीयवासीले स्वास्थ्य तथा वातावरणीय समस्यासमेत भोगिरहेका छन्।
सम्बन्धित निकायहरूले परियोजना कार्यान्वयनमा ढिलाइ हुनुका कारणबारे स्पष्ट जानकारी दिन सकेका छैनन्। यसले चक्रपथ विस्तारको दोस्रो चरण कहिले सुरु हुन्छ भन्ने विषयमा अन्योल कायमै रहेको छ।














