`

गृहमन्त्री गुरुङको सम्पत्ति विवाद : बालेनले लिए लिखित स्पष्टीकरण

Nepal One HD ८ वैशाख २०८३ १०:५३
अर्थ समाचार

काठमाडौं। गृहमन्त्री सुधन गुरुङको सेयर लगानी र सम्पत्ति विवरणलाई लिएर उठेका प्रश्नहरू जटिल बन्दै गएपछि प्रधानमन्त्री बालेन शाहले औपचारिक रूपमा लिखित स्पष्टीकरण लिएका छन् ।

सम्पत्ति विवरणमा सेयर खरिदसम्बन्धी विवरण अपूर्ण देखिएको तथा सम्पत्ति शुद्धीकरणको अभियोगमा प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग सम्भावित सम्बन्ध जोडिएको आशंकापछि गृहमन्त्रीमाथि प्रश्न उठेको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार यस प्रकरणबारे प्रधानमन्त्री शाहले गम्भीर चासो व्यक्त गरेका छन् । गृहमन्त्री गुरुङको सचिवालयले पनि प्रधानमन्त्रीलाई लिखित स्पष्टीकरण बुझाइसकेको जनाएको छ ।

गृहमन्त्री गुरुङले ऋण लिएर सेयर खरिद गरेको दाबी गर्दै सोमबार साँझ स्पष्टीकरण बुझाएका छन् । तर उनको स्पष्टीकरण र सम्पत्ति विवरणबीच मेल नखाने भन्दै थप प्रश्नहरू उठिरहेका छन् ।

सम्पत्ति विवरणअनुसार गुरुङको नाममा करिब ४ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर लगानी देखिन्छ । तर कुन–कुन कम्पनीमा लगानी गरिएको हो भन्ने स्पष्ट विवरण सार्वजनिक गरिएको छैन । सूचीकृत तथा संस्थापक दुवै प्रकारका सेयर रहेको भनिए पनि तिनको स्रोत र वर्गीकरण अस्पष्ट रहेको आरोप छ ।

स्पष्टीकरणमा स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्सका सेयर ऋण लिएर खरिद गरिएको उल्लेख भए पनि अन्य सेयर लगानीबारे स्पष्टता नदिइएकोले कुल लगानी ऋणमार्फत हो वा आंशिक मात्र हो भन्ने विषय अनिश्चित बनेको छ ।

त्यसैगरी, सम्पत्ति विवरणमा सेयर खरिदको स्रोत ‘व्यवसाय, पैतृक सम्पत्ति वा लगानी’ भनेर उल्लेख गरिएको भए पनि ऋणसम्बन्धी विवरण समावेश गरिएको छैन । ऋण उल्लेख गर्ने खण्ड खाली राखिएको पाइएपछि पारदर्शितामाथि थप प्रश्न उठेको छ ।

गुरुङको स्वामित्वमा रहेका केही कम्पनीहरूमा संस्थापक सेयर रहेको तथ्य पनि सम्पत्ति विवरणसँग मेल नखाने बताइएको छ । साथै, दीपक भट्टसँगको सम्भावित व्यावसायिक सम्बन्धबारे स्पष्टीकरणमा उल्लेख नभएपछि राजनीतिक तथा प्रशासनिक वृत्तमा थप शंका उत्पन्न भएको छ ।

यसबीच सत्तारूढ दलभित्र यस विषयमा औपचारिक छलफल वा अनुशासनात्मक प्रक्रिया सुरु नभएको जनाइएको छ । तर सार्वजनिक दबाब बढ्दै जाँदा गृहमन्त्रीको आर्थिक पारदर्शितामाथि थप छानबिनको माग तीव्र बन्दै गएको छ ।

सरकारले भने अहिलेसम्म यसबारे कुनै आधिकारिक निर्णय वा निष्कर्ष सार्वजनिक गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *