`

राजीनामा दबाबबीच लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

Nepal One HD ८ वैशाख २०८३ १४:३७
प्रमुख खबर

काठमाडाैं। गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गर्न दुइ दिनमा दोस्रोपटक बूढानीलकण्ठस्थित निवास पुगेका छन्। पछिल्लो समय विवादमा तानिएका गुरुङमाथि लघु बीमा कम्पनीमा गरिएको लगानीका कारण चर्को आलोचना भइरहेको छ। उक्त कम्पनीमा विवादास्पद व्यापारी दीपक भट्ट समूहको लगानी रहेको र त्यसमा गुरुङको संस्थापक सेयर रहेको विषय सार्वजनिक भएपछि राजनीतिक तथा सामाजिक वृत्तमा उनको चर्को आलोचना भइरहेको छ ।

यो विषय बाहिरिएपछि गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका थिए। उनले उक्त सेयर आफूले व्यक्तिगत रूपमा नभई ऋणमार्फत लिएको दाबी गरेका छन्। तर, उनको सम्पत्ति विवरणमा यसबारे स्पष्ट उल्लेख नगरेको आरोप लागेपछि आलोचना थप बढेको छ। पारदर्शिता र नैतिकताको प्रश्न उठाउँदै विपक्षी दलहरू मात्र नभई रास्वपाभित्र पनि यसबारे व्यापक छलफल भइरहेको छ ।

गुरुङ चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए। जिम्मेवारी सम्हालेको छोटो समयमै उनी विवादमा परेपछि राजनीतिक दबाब बढ्दो छ। विशेषगरी सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो आर्थिक संलग्नता स्पष्ट राख्नुपर्ने मान्यता विपरीत व्यवहार गरेको भन्दै उनलाई राजीनामा दिनुपर्ने आवाज उठ्न थालेका छन्।

यही पृष्ठभूमिमा गृहमन्त्री गुरुङ सभापति लामिछानेसँग परामर्श गर्न पुगेका हुन्। पार्टीभित्र उत्पन्न असहज अवस्था व्यवस्थापन गर्ने र सार्वजनिक आलोचनालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि कुराकानी केन्द्रित रहेको बुझिएको छ।

गृहमन्त्रीको भूमिकामाथि नै प्रश्न उठिरहेको अवस्थामा उनको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। अब पार्टी नेतृत्वले यस विषयमा कस्तो निर्णय लिन्छ र गुरुङले आफ्नो पद जोगाउन सक्छन् कि सक्दैनन् भन्नेमा सबैको चासो केन्द्रित भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *