दुर्गा प्रसाईँविरुद्ध मुद्दा दायर,५ वर्षसम्म कैद सजायको माग
काठमाडौं। मेडिकल व्यवसायी तथा दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं ले उनलाई उक्त ऐनको दफा ४७(१) बमोजिम सजाय गर्न माग गरेको हो । सो दफाअनुसार कसुर प्रमाणित भएमा १ लाख रुपैयाँसम्म जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
अभियोगपत्रमा प्रसाईंले सामाजिक सञ्जाल (फेसबुक) मार्फत आगामी निर्वाचनबारे भ्रामक तथा उत्तेजक अभिव्यक्ति दिएको उल्लेख छ। विशेषगरी २०८२ फागुन २१ गतेका लागि तय निर्वाचनबारे “निर्वाचन गरिए देश टुक्रिन्छ” भन्ने जस्ता अभिव्यक्ति दिई वैमनस्यता फैलाएको आरोप लगाइएको छ।
त्यस्तै, उनले राजसंस्था र हिन्दु राज्यको माग गर्दै निर्वाचन रोक्ने, तथा हिंसा उक्साउने खालका अभिव्यक्ति दिएको दाबी गरिएको छ। भिडियोहरूमा “मर्न र मार्न तयार हुने” जस्ता शब्द प्रयोग गरेको प्रमाणसमेत पेश गरिएको प्रहरी अनुसन्धानले देखाएको छ।
यसै आधारमा उनलाई थप सजाय र पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउनसमेत माग गरिएको छ।
