`

एआई-आधारित शिक्षण प्रणाली आवश्यक: शिक्षकलाई डिजिटल दक्ष बनाउन जोड

Nepal One HD ११ वैशाख २०८३ १२:२२
विज्ञान-प्रविधि

काठमाडौं। ललितपुरस्थित एभरेस्ट इन्जिनियरिङ कलेजमा आयोजित तीनदिने ‘एआई इनाबल्ड डिजिटल पेडागोजी’ कार्यशालाका सहभागीहरूले आधुनिक डिजिटल युगअनुसार शिक्षण पद्धतिमा परिवर्तन अपरिहार्य रहेको निष्कर्ष निकालेका छन्। उनीहरूले प्रभावकारी शिक्षाका लागि शिक्षकहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान र दक्षता प्रदान गर्नुपर्नेमा जोड दिएका छन्।

कार्यक्रम संयोजक तथा सहप्राचार्य राजन लामाले कार्यशालाले शिक्षण क्षेत्रमा सकारात्मक रूपान्तरण ल्याउने विश्वास व्यक्त गर्दै सिकाइलाई व्यवहारमा लागू गर्न शिक्षकहरूलाई प्रेरित गरे। कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले डिजिटल प्रविधिसँग समायोजन नगरी आधुनिक शिक्षा सम्भव नहुने उल्लेख गर्दै यस्ता कार्यक्रम संस्थागत विकासका लागि महत्वपूर्ण हुने बताए। त्यस्तै, कलेजका सीईओ अरुणकुमार भण्डारीले अन्तर्राष्ट्रिय स्तरको शिक्षातर्फ अघि बढ्न प्रविधिमैत्री शिक्षण अनिवार्य भएको धारणा राखे।

कलेज प्रशासनका अनुसार कार्यशालाको मुख्य उद्देश्य शिक्षकहरूलाई डिजिटल युगअनुसार अद्यावधिक गर्दै शिक्षण गुणस्तर सुधार गर्नु हो। भविष्यमा पनि यस्ता नवप्रवर्तनमुखी कार्यक्रम निरन्तर सञ्चालन गरिने जनाइएको छ।

वैशाख ८ देखि १० सम्म सञ्चालन भएको उक्त कार्यशालामा परम्परागत शिक्षणलाई प्रविधिमैत्री र विद्यार्थीकेन्द्रित बनाउने विषयमा प्रशिक्षण दिइएको थियो। पहिलो दिन एआई र डिजिटल पेडागोजीको आधारभूत अवधारणा तथा शिक्षणमा यसको भूमिकाबारे छलफल गरिएको थियो। दोस्रो दिन डिजिटल सामग्री निर्माण र अन्तरक्रियात्मक शिक्षण विधिमा अभ्यास गराइएको थियो भने अन्तिम दिन एआई-आधारित मूल्यांकन प्रणाली र स्मार्ट कक्षाको भविष्यबारे विस्तृत चर्चा गरिएको थियो।

कार्यशालामा सहभागी शिक्षकहरूले समूहगत अभ्यास, केस स्टडी र व्यावहारिक प्रयोगमार्फत सिकाइलाई अझ प्रभावकारी बनाएका थिए। तीन दिनसम्म बिहान ११ बजेदेखि दिउँसो २:३० बजेसम्म सञ्चालन भएको कार्यक्रम समापनका अवसरमा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *