`

सौर्य ऊर्जा उत्पादकलाई ‘पिपिए’ गर्न प्राधिकरणको आग्रह

Nepal One HD १२ वैशाख २०८३ १०:५६
विज्ञान-प्रविधि

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत् आयोजनाका लागि विद्युत् खरिद सम्झौता (पीपीए) गर्न इच्छुक पक्षलाई सम्पर्क गर्न आह्वान गरेको छ।

प्राधिकरणले कम्तीमा ५१ प्रतिशत स्थानीय तहको साझेदारीमा निर्माण हुने एक मेगावाटसम्म जडित क्षमता भएका सौर्य आयोजनासँग विद्युत् खरिद सम्झौता गर्ने तयारी गरेको हो। यसअघि २०८२ कात्तिक १९ गतेको बैठकले सौर्य आयोजनासँग विद्युत् खरिद बिक्री सम्झौता गर्ने निर्णय गरेको थियो।

प्राधिकरणले त्यस्ता आयोजनाबाट उत्पादित विद्युत् प्रतियुनिट ४ रुपैयाँ ९९ दर कायम गरेको छ। चालु आर्थिक वर्षभित्रै यस्ता आयोजनासँग सम्झौता सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

वैशाख २ गतेको निर्णयअनुसार प्राधिकरणले यसै महिनाको अन्त्यसम्म आवश्यक कागजातसहित निवेदन दिन आग्रह गरेको छ। आयोजनालाई ३३/११ केभी क्षमताको ग्रिड वा वितरण सबस्टेशनमा जडान गरिनेछ। साथै, प्रवर्द्धकको अनुरोधमा ११ केभी वितरण लाइनमार्फत पनि जडानको व्यवस्था गरिने जनाएको छ।

विद्युत् खरिद सम्झौताका लागि निवेदन दिन कम्पनी दर्ता प्रमाणपत्र, स्थानीय तहको कम्तीमा ५१ प्रतिशत सेयर रहेको विवरण, सञ्चालकहरूको विवरण, प्रबन्धपत्र, नियमावली, कर चुक्ताको प्रमाणपत्र, विद्युत् सर्वेक्षण अनुमति पत्र, स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र, जग्गा सम्बन्धी कागजातलगायत पेश गर्नुपर्नेछ।

त्यसैगरी, विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने आधिकारिक व्यक्तिको अख्तियारी पत्र र आयोजनाको निर्माण तालिकासहितको विवरणसमेत अनिवार्य रूपमा पेश गर्नुपर्ने प्राधिकरणले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *