गाजामा इजरायली आक्रमण तीव्र, १३ जनाको मृत्यु
एजेन्सी। प्यालेस्टिनी क्षेत्र गाजामा प्रहरीलाई लक्षित गरी भएको इजरायली आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको गाजाको नागरिक रक्षा एजेन्सीले जनाएको छ।
अक्टोबरमा भएको युद्धविरामको बाबजुद पनि इजरायली आक्रमण जारी रहँदा गाजामा दैनिक हिंसात्मक अवस्था कायमै रहेको छ। इजरायली सेना र हमास दुवैले एक–अर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाइरहेका छन्।
खान युनिसको अल-मवासी क्षेत्रमा भएको हवाई आक्रमणमा एक बालकसहित आठ जनाको मृत्यु भएको र धेरै जना घाइते भएको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ।
त्यस्तै, उत्तरी गाजाको बेत लाहियास्थित कमल अदवान अस्पताल नजिकको आवासीय घरमा भएको आक्रमणमा आमा र दुई बालबालिकासहित तीन जनाको ज्यान गएको बताइएको छ।
गाजा सहरमा प्रहरी गस्ती लक्षित आक्रमण हुँदा दुई प्रहरी अधिकारीको मृत्यु भएको र दुई जना घाइते भएको उल्लेख छ।
अल-सिफा र नासेर अस्पतालले मृतकहरूको नाम सार्वजनिक गर्दै पछिल्लो आक्रमणको पुष्टि गरेका छन्।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम सुरु भएयता कम्तीमा ७९२ प्यालेस्टिनीको मृत्यु भइसकेको छ।
यसैबीच, इजरायली सेनाले पनि युद्धविरामपछि गाजामा पाँच सैनिक मारिएको जनाएको छ।
