ग्राउण्ड जीरो : एकैछिनमा भत्किएको थापाथली सुकुम्बासी बस्ती
काठमाडौं । थापाथलीको सुकुम्बासी बस्ती आज बिहानदेखि सरकारी सुरक्षा घेराबीच खाली गरिएको छ। सरकारको निर्देशनपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गर्दै बस्ती हटाउने कार्य सुरु गरिएको हो। बिहानैदेखि ठुलो संख्यामा सुरक्षा दस्ताले बस्ती क्षेत्र घेराबन्दी गरेपछि थापाथली क्षेत्र तनावग्रस्त बनेको थियो।
हिजोदेखि नै सुरक्षा निगरानीमा राखिएको उक्त बस्तीमा बिहान ६ बजेदेखि नै प्रहरी परिचालन बढाइएको थियो। करिब ८ बजेर ३० मिनेटमा शंखमूलतर्फबाट स्काभेटर प्रवेश गरेपछि बस्ती भत्काउने कार्य औपचारिक रूपमा सुरु भयो।
त्यसपछि क्रमशः टहराहरू भत्किन थाले र केही मिनेटमै सुकुम्बासी बस्तीका घरहरू ढल्न थाले। डोजरको आवाजसँगै घरहरू ढल्दा त्यहाँको वातावरण अत्यन्तै भावुक र तनावपूर्ण बनेको थियो।
प्रहरीले बस्ती क्षेत्रलाई पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो। बस्तीभित्र सर्वसाधारण, पत्रकार र अन्य व्यक्तिहरूलाई प्रवेश गर्न दिइएको थिएन। त्रिपुरेश्वर र शंखमूलतर्फबाट ठूलो संख्यामा संचारकर्मीहरू घटनास्थलमा पुगे पनि उनीहरूलाई करिब १५ मिटर टाढाबाट मात्रै भिडियो खिच्न अनुमति दिइएको थियो। सुरक्षाका नाममा कडा प्रतिबन्ध लगाइएपछि सञ्चारकर्मीहरू बाहिरैबाट घटनाको दृश्य कैद गर्न बाध्य भए।
बस्ती भत्काइरहँदा सुकुम्बासी परिवारहरू भने आफ्ना घरभित्रका सामान बचाउने प्रयासमा व्यस्त देखिन्थे। कतिपय रुँदै सामान ओसारिरहेका थिए भने कतिपय सन्नाटामा टाउको समाएर बसिरहेका थिए। केही परिवारले खुला स्थानमै खाना पकाएर खाइरहेको दृश्य पनि देखिएको थियो।
५५ वर्षीया सानु उप्रेती २० वर्षदेखि थापाथलीमा बस्दै आएकी थिइन्। पाँच सदस्यीय परिवारसहित बस्दै आएकी उनले अहिले आफ्नो भविष्य अनिश्चित भएको बताइन्। ‘अब कसरी भाडा तिर्ने, परिवार कसरी धान्ने थाहा छैन,’ भन्दै उनी भावुक बनिन्। ज्यालादारी काम गरेर जीविका चलाउँदै आएकी उनले अब थप संघर्ष गर्नुपर्ने अवस्था आएको बताइन्।
त्यस्तै, सर्लाही घर भएका २७ वर्षीय सलिन परियार शारीरिक रूपमा अपाङ्ग छन्। ह्विलचेयरमा बस्दै आएका उनी केही सामान बोकेर गन्तव्यविहीन अवस्थामा देखिन्थे। उनले बस्ती भत्किएपछि सर्लाही फर्किने योजना रहेको बताए। ‘२० वर्षदेखि यहाँ बस्दै आएको हो, अब सर्लाही जान्छु,’ उनले भने। तर सर्लाहीमा पनि आफूलाई स्थायी बसोबास नभएको उनको गुनासो थियो।
चित्रलेखा नामकी एक महिला भने घर भत्किँदा रुँदै देखिइन्। उनले आफ्नो खुट्टाले काम नगर्ने भएकाले अब जाने ठाउँ नै नभएको बताइन्। ‘सरकारले व्यवस्थापन गरिदिएको भए राम्रो हुन्थ्यो,’ भन्दै उनी निराश बनेकी थिइन्। उनको परिवार पनि लामो समयदेखि सोही बस्तीमा बस्दै आएको थियो।
त्यसैगरी रोशन मगरले सरकारले आफूहरूलाई कहाँ लैजाने हो भन्ने स्पष्ट जानकारी नदिएको भन्दै चिन्ता व्यक्त गरे। ‘भत्काउन त भत्कायो, तर अब कहाँ जाने थाहा छैन,’ उनले भने।
६३ वर्षीया सलाम अन्सारीले सरकारको कदमप्रति आक्रोश व्यक्त गरे। उनले गत निर्वाचनमा रास्वपालाई मतदान गरेको स्मरण गर्दै अहिले आफूहरू नै पीडित बन्नु परेको गुनासो गरे। ‘८ हजार भाडा तिरेर धनुषा गए, रास्वपालाई मत हाले, तर हाम्रो टाउकोमाथि डोजर चलाइयो,’ उनले भने।
थापाथली सुकुम्बासी बस्तीमा करिब करिब २०० घरको आँकडा रहेको काठमाडौँ महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिए। ‘ठ्याक्कै त हामीलाई पनि थाहा छैन, तर हाम्रो आँकडा २०० छ भन्ने हो,’ उनले भनेका थिए। अहिले ती २०० वटै घरहरु भत्काइएको छ। विगत लामो समयदेखि अतिक्रमित भनिएको बस्तीमा डोजर चलेसँगै आजबाट बस्ती खाली भएको हो।
यसअघि काठमाडौँ महानगरको मेयर हुँदा पनि प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले बस्तीमा डोजर चलाउने सुर कसेका थिए। बस्तीमा डोजर पनि पुगेको थियो। तर राजनीतिक विरोध, सुकुमवासी नागरिकहरुको प्रतिरोध र अदालतको आदेशले त्यतिबेला उनी सफल भएनन्। तर, यसपल्ट भने उनको निर्देशनमा कुनै छेकावट र रोकावट देखिएन। शुक्रबार बिहान बस्ती छेउमा सामाजिक अभियन्ता, जेनजी अगुवाहरु लगायतका केहीले प्रदर्शन गरेपनि आज बस्ती भत्काउने दिन भने कुनै पनि किसिमको अड्चन थिएन। बस्तीका नागरिकहरु त्रासित नै भएपनि उनीहरुले भत्काउने काममा कुनै अवरोध गरेनन्। शान्त रुपमा एकोहोरो थापाथली बस्ती खाली भइरह्यो र भत्किरह्यो।
शुक्रबार बिहान पनि हामी थापाथली सुकुमवासी बस्ती पुगेका थियौं। हामीले त्यहाँ स्थानिय अगुवाहरुसँग कुरा गर्ने क्रममा १५८ परिवारको घर रहेको जानकारी पाएका थियौँ। तर, आज बस्ती खाली भइसकेपछि भने जम्माजम्मी २२ वटा परिवार सम्पर्कमा आएको काठमाडौँ महानगरको सचिवालयले जनाएको छ। बाँकी १२८ वटा परिवार ? नक्कली सुकुमवासी ? की त्यहाँ कै नागरिकबाटै भाडा असुल्ने हुकुमवासी ?
घटनास्थल वरपर ठूलो भीड जम्मा भएको थियो। सर्वसाधारणले टाढाबाटै भत्काइएका संरचना हेरिरहेका थिए। यसअघि सडकबाटै हटाइँदै आएको संरचना अब बस्तीभित्रै प्रवेश गरेर खाली गरिँदै गरिएको प्रशासनको भनाइ छ। बस्ती भत्किएसँगै सयौं परिवारको जीवन अनिश्चित बनेको छ भने उनीहरूको पुनर्स्थापना र व्यवस्थापनबारे अझै देखिएको छ ।
