`

घरदैलोमै सामाजिक सुरक्षा भत्ता : बैंक धाउनुपर्ने बाध्यता हट्यो

Nepal One HD १२ वैशाख २०८३ १९:३९
अर्थ समाचार

ललितपुर। दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाई थप सहज, सरल र नागरिकमैत्री बनाउने उद्देश्यले लाभग्राहीको घरदैलोमै पुगेर भत्ता वितरण सुरु गरेको छ ।गाउँपालिकाकी उपाध्यक्ष डोल्मा माया गोलेका अनुसार ज्येष्ठ नागरिक, एकल महिला तथा शारीरिक रूपमा अशक्तता भएका नागरिकको सहजताका लागि घरदैलोमै पुगेर भत्ता वितरण गर्ने व्यवस्था लागू गरिएको हो ।

उपाध्यक्ष गोलेले भन्नुभयो, “हाम्रो पालिकाका धेरै वडाहरू टाढा र दुर्गम क्षेत्रमा छन् । ज्येष्ठ नागरिक, एकल महिला तथा अशक्तता भएका नागरिकले पालिका केन्द्र गोटीखेलस्थित बैंकसम्म पुगेर भत्ता लिनुपर्ने बाध्यता अब अन्त्य भएको छ । त्यसैले घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य अघि बढाएका छौँ ।”

उहाँका अनुसार महाङ्काल गाउँपालिका–६ ठूलादुर्लाङबाट औपचारिक रूपमा सेवा सुरु गरिएको हो । घरदैलोमै भत्ता पाउँदा ज्येष्ठ नागरिक, अशक्तता भएका व्यक्ति तथा एकल महिलाले खुसी व्यक्त गरेका छन् । पालिकाले आगामी दिनमा यो सेवा सबै वडामा विस्तार गर्ने तयारी गरेको जनाएको छ ।

त्यसैगरी, उपाध्यक्ष गोलेले घुम्ती शिविरमार्फत नागरिकता सिफारिस, सामाजिक सुरक्षा सेवा तथा व्यक्तिगत घटना दर्तालगायत सेवा वडास्तरमै उपलब्ध गराइने जानकारी दिनुभयो ।‘अब पालिकामा होइन, सेवा तपाईंको घरमै’ भन्ने नारासहित सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिक केन्द्रित बनाउने अभियानलाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *