ट्रम्पलाई गोली हान्ने पक्राउ
एजेन्सी। वासिङ्टन डीसीमा रहेको ‘वासिङ्टन हिल्टन’ होटलमा आयोजित ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर’ कार्यक्रमका क्रममा गोली चलाउने व्यक्ति पक्राउ परेका छन् ।
गोली चलाउने क्यालिफोर्नियाका ३० वर्षीय एक पुरुषलाई पक्राउ गरी प्रहरी नियन्त्रणमा राखिएको छ।
सीएनएनका अनुसार, कार्यक्रम चलिरहेका बेला अचानक गोलीको आवाज सुनिएपछि अमेरिकी ‘सीक्रेट सर्भिस’ का सुरक्षाकर्मीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तत्काल सुरक्षित स्थानमा लगेका थिए।
घटनाको समयमा राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति जेडी भेन्स तथा अन्य मन्त्रीहरू सबै सुरक्षित रहेको जनाइएको छ।
यो घटनालाई राष्ट्रपति ट्रम्पमाथि भएको तेस्रो सुरक्षा चुनौतीका रूपमा उल्लेख गरिएको छ। यसअघि जुलाई २०२४ मा पेन्सिलभेनियाको चुनावी र्याली र सेप्टेम्बरमा फ्लोरिडाको गल्फ कोर्समा पनि उनीमाथि आक्रमण प्रयास भएको बताइएको छ।
घटनापछि राष्ट्रपति ट्रम्पले आफू ह्वाइट हाउस फर्किने र चाँडै पत्रकार सम्मेलन गर्ने बताएका छन्। रोकिएको डिनर कार्यक्रम ३० दिनभित्र पुनः आयोजना गरिने जनाइएको छ।
