`

मान-सम्मानकाे अति भाेकाे रास्वपाका ‘माननीय’प्रति शिक्षकहरुकाे आपत्ति

Nepal One HD १३ वैशाख २०८३ १२:२०
बिशेष

काठमाडाैँ । मान-सम्मानकाे अति भाेकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य विश्‍वराज पाेखरेल शिक्षकहरुकाे आलाेचनाकाे सिकार भएका छन् ।

आफू ‘माननीय’ भएकाे र आफ्नाे सम्मान नगरेकाे भन्दै एक प्रधानाध्यापकमाथि अपमानपूर्णकाे व्यवहार गरेकाे भिडियाे सार्वजनिक भएपछि माफी मागे पनि शिक्षकहरुले आलाेचना गर्न छाडेका छैनन् ।

नेपाल शिक्षक महासंघले रास्वपाबाट निर्वाचित सांसद  पोखरेलको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–२ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरलाई आफ्नो स्वागत गर्न नआएको भन्दै उनी जंगिएको घटनाप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।

महासंघले विज्ञप्ति जारी गर्दै सांसद पोखरेलको सो हर्कत अशोभनीय भएको ठहर गरेको छ । विद्यालयको हाताभित्र प्रधानाध्यापकमाथि गरिएको सो व्यवहार शैक्षिक क्षेत्रको गरिमा र स्वतन्त्रतामाथि प्रहार भएको महासंघको जिकिर छ ।

‘हरेक पदाधिकारीको आफ्नो पदीय जिम्मेवारी र क्षेत्राधिकार हुन्छ । यस तथ्यलाई बिर्सेर माननीय पोखरेलबाट विद्यालय हाताभित्र प्रधानाध्यापक माथि गरिएको अशोभनीय व्यवहारले शैक्षिक क्षेत्रको गरिमा र स्वतन्त्रतामाथि कठोर प्रहार हुनुका साथै जननिर्वाचित प्रतिनिधिको गरिमा र विश्वाससमेत घाइते भएको हाम्रो ठहर छ’,विज्ञप्तिमा उल्लेख छ ।

महासंघले घटनाको घोर निन्दा गर्दै आगामी दिनमा सो किसिमको व्यवहार नगर्न आग्रह गरेको छ । सांसद पोखरेल गत वैशाख १० गते आफ्नो गृहजिल्ला पुगेका थिए । उनलाई स्वागत गर्न विद्यालयले भव्य कार्यक्रम आयोजना गरेको थियो । बाजागाजासहित विद्यालय भित्र्याइएका उनी आउँदा प्रधानाध्यापक र कर्मचारी अर्कै काममा व्यस्त थिए ।

आफूलाई स्वागत गर्न नआएको भन्दै उनले प्रधानाध्यापकलाई हप्काएका थिए । साथै, उनले आफू पूर्वअतिरिक्त महानिरीक्षक भन्दै धाक लगाएका थिए । सो भिडियो हाल सामाजिक सञ्जालमा भाइरल बनेको छ । सर्वत्र विरोध भएपछि उनले माफी मागेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *