`

युद्द अन्त्य गर्न अमेरिकालाई इरानको नयाँ प्रस्ताव

Nepal One HD १४ वैशाख २०८३ १३:२७
राजनीति

काठमाडौं । तेहरानले क्षेत्रीय तनाव घटाउने प्रयासस्वरूप पाकिस्तानमार्फत अमेरिकासमक्ष नयाँ प्रस्ताव अघि सारेको छ। एक्सियोसको रिपोर्टअनुसार इरानले हर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने र जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले दुई चरणीय योजना प्रस्तुत गरेको हो, जसलाई दीर्घकालीन समाधानतर्फको सम्भावित कदमका रूपमा हेरिएको छ।

उक्त योजनाको पहिलो चरणमा समुद्री सुरक्षा संकट र अमेरिकी नौसेनाको नाकाबन्दी अन्त्य गर्ने विषय समेटिएको छ। त्यसपछि मात्र आणविक वार्ता अघि बढाउने प्रस्ताव गरिएको छ। इरानले दीर्घकालीन युद्धविराम र स्थायी शान्तिको रूपरेखा प्रस्तुत गरे पनि अमेरिकाले भने इरानलाई कम्तीमा १० वर्षसम्म युरेनियम संवर्धन रोक्न र आफ्नो आणविक सामग्री विदेश सार्न दबाब दिइरहेको छ। यस विषयमा इरानभित्रै पूर्ण सहमति बन्न सकेको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका लागि प्रत्यक्ष भेटभन्दा फोनमार्फत संवाद गर्न सकिने संकेत दिएका छन्। यता, इरानी विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तान र ओमानसँग कूटनीतिक पहल तीव्र बनाएका छन् भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्ने तयारीमा छन्।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलबीचको सैन्य तनावपछि ठूलो युद्ध टरे पनि औपचारिक शान्ति सम्झौता भने हुन सकेको छैन। यसले विश्व अर्थतन्त्रमा अनिश्चितता कायम राखेको छ।

विश्वको करिब २० प्रतिशत तेल ढुवानी हुने रणनीतिक हर्मुज जलमार्गलाई इरानले आफ्नो कूटनीतिक दबाबका रूपमा प्रयोग गरिरहेको छ। इरानले वार्ताअघि अमेरिकी नाकाबन्दी हटाउने, क्षतिपूर्ति दिने र भविष्यमा सैन्य हस्तक्षेप नगर्ने ग्यारेन्टी माग गरेको छ। अर्कोतर्फ, अमेरिका इरानको आणविक कार्यक्रम, मिसाइल विकास र क्षेत्रीय प्रभाव सीमित गर्न केन्द्रित रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *