`

सेयर बजार ७ दशमलव ७३ अङ्कले बढ्यो

Nepal One HD १४ वैशाख २०८३ १५:४३
अर्थ समाचार

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि देखिएको छ। नेप्से परिसूचक ७.७३ अंकले बढेर २,७९६ बिन्दुमा पुगेको छ। यसअघि शुक्रबार पनि नेप्से १.५ अंकले बढेको थियो।

यद्यपि आज कारोबार रकम घटेको छ। अघिल्लो दिन ५ अर्ब २७ करोड रुपैयाँको कारोबार भएकोमा आज घटेर ४ अर्ब ७४ करोड रुपैयाँमा सीमित भएको छ। बजारमा १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको घटेको र १० कम्पनीको स्थिर रहेको छ।

उपसमूहतर्फ उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५२ प्रतिशतले बढेको छ। त्यस्तै विकास बैंक १.१४ प्रतिशत, बैंकिङ ०.६८ प्रतिशत, फाइनान्स ०.४२ प्रतिशत, होटल तथा पर्यटन ०.९७ प्रतिशत, जीवन बीमा ०.१३ प्रतिशत, माइक्रोफाइनान्स ०.२९ प्रतिशत र निर्जीवन बीमा ०.१५ प्रतिशतले बढेका छन्।

तर हाइड्रोपावर ०.१९ प्रतिशत, लगानी ०.२८ प्रतिशत, अन्य ०.४४ प्रतिशत र व्यापार समूह १.३९ प्रतिशतले घटेका छन्।

आज चार कम्पनीको सेयर मूल्य १५ प्रतिशतले वृद्धि भएको छ। यसमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज, कर्पोरेट डेभलपमेन्ट बैंक, शिखर पावर र सिटी होटल रहेका छन्। झापा इनर्जीको मूल्य ९.४४ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको ६.८६ प्रतिशतले बढेको छ।

माइखोला हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ। आज सबैभन्दा बढी कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत् कम्पनी, सोलु हाइड्रोपावर, नेसनल हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *