रास्वपा सांसद खरेलद्वारा एनसेल-कोरिया विवादमा दिए स्पष्टीकरण(भिडियो)
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा पूर्व सञ्चार मन्त्री जगदिश खरेलले आफू मन्त्री रहेको बेला एनसेलसँग साठगाँठ गरेको भन्दै विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति समेत आपत्ति जनाउँदै सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन्। हालै यिनै विवादका कारण प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई सञ्चार मन्त्रालयको जिम्मेवारी नदिएको पनि दाबी गरिएको थियो।
खरेलले मंगलबार फेसबुकमा लेखिएको एक स्टाटसमार्फत आफूविरुद्ध प्रकाशित समाचार ‘अविश्वसनीय र अपरिपक्व रिपोर्टिङ’ भएको दाबी गरेका छन्। जनआस्था दैनिकमा आफ्नो बारेमा आएको समाचारको खण्डन गर्दै उनले तथ्यहीन दाबीहरूको पछि नलाग्न आग्रह गरेका छन्।
खरेलले पहिलो स्पष्टिकरण रातो पासपोर्टसम्बन्धी दिए। उनले भने, “म साधारण पासपोर्टमार्फत नै भिसा आवेदन दिएर सभामुखसँग बिदा माग्न गएको थिएँ। रातो पासपोर्ट मागेको भन्ने कुरा गलत हो।’
त्यसपछि उनले कोरिया भ्रमण र एनसेलसँग भेटघाट सम्बन्धी दाबीलाई पूर्णरूपमा अस्वीकार गरे। उनका अनुसार, ‘मन्त्री हुँदा ११औं ग्लोबल आईसीटी लिडरसिप फोरममा सहभागी हुन कोरिया गएको थिएँ, तर त्यहाँ एनसेलका सतिशलाल आचार्यसँग भेट भएको छैन। कोरियामै यस्तो भेट भएको भनेर फैलाइएको समाचार १०० प्रतिशत कपोलकल्पित हो।’
सत्यको खोजी गर्न मिडियालाई आग्रह गर्दै उनले लेखेका छन्, ‘तथ्य र प्रमाणसहितको पत्रकारिता हुनुपर्छ। कोही पनि भ्रममा नपरौं, सत्य ढिलोचाँडो बाहिरिन्छ।’
अन्त्यमा उनले सम्बद्ध सबैलाई चेतावनीजस्तै सन्देश दिँदै भनेका छन्, ‘चुप रहनु, सुन्नु र सहनु भनेको स्वीकार्नु होइन।’
