`

अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

Nepal One HD १५ वैशाख २०८३ २०:५५
समाचार

काठमाडौँ। जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी सेवा वितरण हुने जानकारी दिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट भएको निर्णय कार्यान्वयन गर्दै प्रशासन कार्यालयबाट प्रदान गरिने राहदानी वितरण सेवा हुलाकमार्फत नागरिकको घरदैलोमा पुर्‍याउन आज काठमाडौँ प्रशासन र गोश्वारा हुलाक कार्यालय, काठमाडौँबीच आज सम्झौतापत्रमा हस्ताक्षर भई कार्य सुरु गरिएको हो ।

काठमाडौँ प्रशासनका प्रवक्ता, सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले उक्त सम्झौतासँगै अब सेवा सुरु गरिएको जानकारी दिनुभयो । त्यसका लागि सेवाग्राहीलाई छनोटको विकल्प राखिएको उहाँले बताउनुभयो ।

काठमाडौँ प्रशासनले आजै एक सूचनामार्फत भनेको छ, “यस कार्यालयबाट राहदानीका लागि आवेदन गर्ने सेवाग्राहीहरूलाई आफ्नो राहदानी हुलाक सेवामार्फत घरमै लिन चाहनुहुन्छ वा यस कार्यालयबाट बुझी लिन चाहनुहुन्छ भन्ने विषयमा छनोटको विकल्प दिइएको हुँदा राहदानी आवेदन गर्दाकै बखत उक्त विषय स्पष्ट रूपमा कर्मचारीसमक्ष खुलाउन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”

सरकारले शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको बुँदा नम्बर २७ मा सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी पासपोर्ट, नागरिकता, प्रतिलिपि, लाइसेन्सलगायत सरकारी कागजातहरू/सामग्रीहरू घरमै पुर्‍याउने व्यवस्था १०० दिनभित्र लागू गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *