`

कांग्रेस तीनतिर

Nepal One HD १७ वैशाख २०८३ ११:२३
नेपाली कांग्रेस

काठमाडौं। नेपाली कांग्रेस अहिले तीनतिर तितरबितर भएको छ। कांग्रेसभित्र स्पष्ट रूपमा तीन गुट देखिन थालेका छन्।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि पार्टीभित्र गुटहरूको संख्या बढेको हो। महाधिवेशनअघि कांग्रेसमा संस्थापन पक्ष र डा. शेखर कोइराला समूह मात्र सक्रिय थिए।

महाधिवेशनपछि पहिलेको संस्थापन पक्ष अहिले निवर्तमान सभापति शेरबहादुर देउवा समूहका रूपमा सक्रिय छ। उक्त समूहको भेला बुधबारदेखि महाराजगञ्जस्थित एक होटलमा जारी छ।

विशेष महाधिवेशनबाट नेतृत्वमा आएका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा हाल पार्टीको संस्थापन पक्षमा छन् र उनीहरूका गतिविधि नै पार्टीका आधिकारिक कामका रूपमा अघि बढिरहेका छन्।

यस्तै, डा. शेखर कोइराला महाधिवेशनपछि केही समय देउवा समूहसँगै देखिए पनि पछिल्लो अवस्थामा उनले पुनः आफ्नो अलग समूह सक्रिय बनाएका छन्।

गगन र विश्वप्रकाशले तत्कालीन सभापति देउवा र केन्द्रीय कार्यसमितिको अनुमति बिना विशेष महाधिवेशन गरेको भन्दै त्यसविरुद्ध देउवा र शेखर समूहले निर्वाचन आयोग र सर्वोच्च अदालतमा समेत पुगेका थिए।

सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई मान्यता दिएपछि भने शेखरले आफ्नै समूहलाई पुनः सक्रिय बनाएका हुन्।

यसैक्रममा उनले बागमती प्रदेशका आफ्ना पक्षका नेताहरूको भेला बोलाएका छन्। उक्त भेलामा आगामी रणनीतिबारे छलफल हुने  जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *