रोजगार विभागमा ठगिधन्दा : कर्मचारी, प्रहरी र बिचौलियाको मिलेमतो
काठमाडौं। कीर्ते हस्ताक्षरसहितको उजुरीको आधारमा सर्वसाधरणलाई अनावश्यक दुःख दिइएको गुनासोपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका अधिकृतहरूमाथि छानबिन सुरु गरेको छ।
विभागका कर्मचारी, प्रहरी र केही बिचौलियाको मिलेमतोमा कीर्ते कार्य भएको भन्दै अख्तियारमा गुनासो पुगेपछि आयोग सक्रिय भएको हो।
सूत्रका अनुसार वास्तविक ठगी गर्नेहरूलाई जोगाउनका लागि उल्टै निर्दोषलाई फसाउने र पक्राउ पुर्जी देखाएर तर्साई रकम असुल्ने गतिविधि भएको आरोप छ। यस्ता गतिविधिमा विभागकै केही कर्मचारी संलग्न रहेको भन्दै अख्तियारले उनीहरूलाई बयानका लागि बोलाएको बताइएको छ।
अख्तियारले निरकुमार विश्वकर्मा र युवराज शर्मा लगायतका कर्मचारीलाई बयानका लागि बोलाएको स्रोतले जनाएको छ। विभागभित्र नक्कली हस्ताक्षर प्रयोग गरेर उजुरी दर्ता गराउने र त्यसकै आधारमा निर्दोष व्यक्तिबाट रकम असुल्ने प्रवृत्ति बढेको गुनासो पनि आएको छ।
यस्तो गतिविधिबारे सूचना आएपछि वैदेशिक रोजगार न्यायाधिकरणले समेत पक्राउ अनुमति दिने वा नदिने विषयमा थप अध्ययन गर्न आदेश दिँदै आएको जनाइएको छ।
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने वास्तविक व्यक्तिहरूलाई जोगाउन विभागकै केही कर्मचारी सक्रिय रहेको गुनासो अख्तियारमा पुगेपछि अनुसन्धान अघि बढाइएको हो।
अस्ट्रेलियामा बसेर नेपालका युवालाई ठगी गरेको आरोप लागेका अनिल दनैसँग सम्बन्धित विषयमा पनि गुनासो परेको उल्लेख छ। विभागले दनैलाई जोगाउने प्रयास गर्दै अन्य व्यक्तिलाई दोषी ठहर गर्न खोजेको आरोपपछि न्यायाधिकरणले समेत चासो देखाएको बताइएको छ।
अख्तियारले दनैलाई पक्राउ गरी अनुसन्धान गर्न निर्देशन दिएको भए पनि त्यसको कार्यान्वयन नभएको कारण विभागका केही कर्मचारी शंकाको घेरामा परेका छन्।
