`

बलात्कार मुद्दामा जन्मकैद सजाय पाएका व्यक्ति फरार : फेरि अर्को हत्या

Nepal One HD १७ वैशाख २०८३ १५:४०
अपराध

 

काठमाडौं। युवती बलात्कारपछि हत्या प्रकरणमा जन्मकैदको सजाय सुनाइएका एक व्यक्ति कारागारबाट फरार भएपछि अर्को हत्याकाण्डमा समेत संलग्न भएको खुलेको छ।

जन्मकैदको सजाय भोगिरहेका बाग्लुङको गल्कोट नगरपालिका-९ घर भएका ३१ वर्षीय सञ्जय विकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चाबहिलबाट पक्राउ गरेको हो।

उनी यसअघि २०८० साल मंसिर ५ गते तनहुँको भिमादकी ३९ वर्षीया सुकु विकलाई पोखरास्थित युनिक होटलको कोठा नम्बर २०२ मा लगेर बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए। उक्त घटनामा अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको थियो।

प्रहरीका अनुसार २०८१ साउन १ गते उनी पक्राउ परेका थिए भने २०८२ जेठ २६ गते कास्की अदालतले जन्मकैदको फैसला सुनाएको थियो। त्यसपछि उनी कास्की कारागारमा रहेका थिए।

तर २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका उनी त्यसपछि पुनः अपराधमा संलग्न भएको पाइएको छ।

प्रहरीका अनुसार २०८२ चैत २२ गते पूर्वी नवलपरासीको देवचुली नगरपालिका-१६ टाँडीकोटस्थित आफ्नै घरमा ७५ वर्षका जीवनराम थनेत र ७० वर्षीया गुलाब सिनिया चनेतमाथि घरेलु हतियार प्रयोग गरी आक्रमण गरी गरगहना लुटिएको थियो। सो आक्रमणमा गम्भीर घाइते भएका जीवनरामको उपचारका क्रममा मृत्यु भएको थियो।

उक्त घटनामा समेत सञ्जय विकको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि नवलपरासी पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *