`

चुनावी पराजयको कारण विशेष महाधिवेशन भन्दै गगनले गराउने महाधिवेशन नमान्ने देउवा पक्षको निष्कर्ष (भिडियो)

Nepal One HD १७ वैशाख २०८३ १५:४९
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीभित्र अनुशासनको नाममा पूर्वाग्रह राखी स्पष्टीकरण सोध्ने प्रक्रिया तत्काल रोक्न माग गरेको छ। नेता पूर्णबहादुर खड्काले आह्वान गरेको देउवा समूहको भेलाले पछिल्ला गतिविधि निरङ्कुश प्रवृत्तिको परिचायक रहेको टिप्पणी गर्दै यस्तो कदमले पार्टीभित्र विभाजन अझै गहिरिने बताएको छ।

बैठकले हालै सम्पन्न चुनावको समीक्षा गर्दै विशेष महाधिवेशन नै कांग्रेसको पराजयको मूल कारण बन्न पुगेको निष्कर्ष निकालेको छ। पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतको आदेशलाई मान्ने भए पनि सभापति गगन थापाले अघि बढाएको विशेष महाधिवेशनलाई देउवा समूहले मान्यता नदिने अडान दोहोर्‍याएको छ।

विशेष महाधिवेशनपछि नेपाली कांग्रेसभित्र विभिन्न गुट तथा उपगुट सक्रिय हुँदै आफ्नै कार्यक्रम चलाउन थालेका छन्, जसले चुनावअघि देखिएको आन्तरिक असन्तुष्टिलाई झनै बढाएको देउवा समूहको भनाइ छ। यस्तो अलग अलग गतिविधिले पार्टी एकता कमजोर बनेको र अन्ततः चुनावी परिणाममा नकारात्मक असर परेको उनीहरूको निष्कर्ष छ।

देउवा पक्षले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई अस्वीकार गर्दै यसअघि सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। तर अदालतले गगन थापा नेतृत्वको समितिलाई मान्यता दिँदा आन्तरिक विवाद थप तातिएको छ।

यी सबै घटनाक्रमको बीचमा देउवा समूहले पार्टीभित्र स्पष्टीकरण, कारबाही वा दण्डात्मक कदममा नचलि संवाद र सहमतिमार्फत समस्या समाधान गर्ने वातावरण बनाउन नेतृत्वलाई आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *