नेपाल बैंक र बीमा कम्पनीबीच कर्जा सम्झौता
काठमाडौं। नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच कर्जा कारोबार सम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार राष्ट्रिय बिमा कम्पनी लिमिटेडमा कार्यरत स्थायी कर्मचारीहरूले व्यक्तिगत आवश्यकता पूरा गर्न नेपाल बैंक लिमिटेडको काठमाडौँ बैंकिङ अफिस शाखाबाट अधिकतम १५ लाख रुपैयाँसम्म विनाधितो सेवाग्राही कर्जा लिन सक्नेछन्।
यस सुविधाबाट कर्मचारीहरूले एकै स्थानबाट आफ्ना वित्तीय आवश्यकताहरू पूरा गर्न सक्ने, समय बचत हुने तथा दुई संस्थाबीचको सहकार्य अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
बुधबार नेपाल बैंक लिमिटेडको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा बैंकतर्फबाट रिटेल कर्जा प्रमुख अर्जुनबहादुर कंडेल र राष्ट्रिय बिमा कम्पनी लिमिटेडतर्फबाट मुख्य व्यवस्थापक डा. सृजना पन्तले हस्ताक्षर गरेका थिए।
हाल नेपाल बैंक लिमिटेडले देशभर २३१ शाखा, २४६ एटीएम तथा ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा दिँदै आएको छ।
बैंकले आधुनिक प्रविधिको प्रयोग, युवा जनशक्ति र गुणस्तरीय सेवामार्फत प्रतिस्पर्धात्मक रूपमा आफ्नो उपस्थिति विस्तार गरिरहेको जनाएको छ।
