`

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्णस्तरको आपतकालीन अभ्यास सम्पन्न(तस्बिरहरु)

Nepal One HD १७ वैशाख २०८३ १८:११
फोटोफिचर

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आपतकालीन अवस्थामा प्रतिक्रिया दिने क्षमतालाई अझ प्रभावकारी र व्यवस्थित बनाउन पूर्णस्तरको आपतकालीन अभ्यास सम्पन्न गरेको छ। नागरिक उड्डयन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आयोजना गरेको यस अभ्यासले आकस्मिक परिस्थितिहरूमा आवश्यक समन्वय, स्रोतसाधनको परिचालन र तत्कालीन निर्णय क्षमताको परीक्षण गरेको जनाइएको छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनका मापदण्डअनुसार र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आपतकालीन योजना २०२४ (सातौं संस्करण) अनुरूप यो अभ्यास गरिएको हो। अभ्यासमार्फत विमानस्थलमा उत्पन्न हुन सक्ने सम्भावित दुर्घटना, आगलागी, विमान अवतरण समस्या, उद्धार तथा अनुसन्धान कार्यका प्रक्रियाहरूलाई परीक्षण गरिएको नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ।

अभ्यासमा सुरक्षाकर्मी, दमकल, चिकित्सक, उद्धार टोली, एम्बुलेन्स सेवा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा सम्बन्धित एजेन्सीहरूको सक्रिय सहभागिता रहेको थियो। सामूहिक समन्वय, द्रुत उद्धार प्रतिक्रिया तथा यात्रु–कर्मीको सुरक्षामा अपरेटर्सको तालमेल कति प्रभावकारी छ भन्ने मूल्यांकन यो अभ्यासको मुख्य उद्देश्य रहेको बताइएको छ।

विपद् वा आकस्मिक अवस्थाका कारण विमानस्थलमा नियमित उड्डान अवतरण प्रभावित हुँदा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि व्यावहारिक परीक्षण गरिएको थियो। अभ्यासका परिणामका आधारमा आवश्यक सुधार तथा पुनर्संरचना कार्य अघि बढाइने नागरिक उड्डयन कार्यालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *