‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा आएको छ। मुलुकको सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ प्राधिकरणले सहायक कम्पनी सञ्चालनमा ल्याएको हो।
गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा, दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रको मेरुदण्ड बन्ने लक्ष्यका साथ यो कम्पनीले आफ्नो कार्य आरम्भ गरेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए।
शाक्यका अनुसार ‘पूर्वाधार साझा गर्ने अवधारणा’मा आधारित यो कम्पनीले सहरी सुन्दरता बढाउने, दुर्गम क्षेत्रमा इन्टरनेट पहुँच विस्तार गर्ने र सूचना प्रविधि प्रणालीको एकीकृत विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ।
कम्पनीले इन्टरनेट सेवा प्रदायकहरूलाई ‘प्लग-एण्ड-प्ले’ मोडलमा पूर्वाधार उपलब्ध गराउनेछ। यस व्यवस्थाले सेवा प्रदायकहरूले आफ्नै पोल गाड्ने वा तार टाँग्ने झन्झटबाट छुटकारा पाउनेछन्।
प्राधिकरणको पूर्वाधार प्रयोग गर्दा सेवा प्रदायकहरूको पूँजीगत खर्च उल्लेख्य रूपमा घट्ने र त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले सस्तो इन्टरनेटको रूपमा पाउने अपेक्षा गरिएको छ।
त्यसैगरी कम्पनीले प्राधिकरणसँग रहेका अप्टिकल फाइबर, भूमिगत डक्ट र पोलहरूलाई ‘प्यासिभ एसेट्स’ का रूपमा भाडामा उपलब्ध गराउनेछ। काठमाडौं उपत्यकामा देखिने तारको अव्यवस्था हटाउन पनि यो कम्पनीले प्राथमिकताका साथ काम गर्ने जनाएको छ।
शाक्यले भने, “भूमिगत पाइपको साझा प्रयोगले शहरी सौन्दर्य फर्काउने मात्र होइन, विद्युत् र टेलिफोनका तारहरू आपसमा अल्झिँदा हुने आगलागी र दुर्घटनाको जोखिम पनि घट्नेछ। अब हरेक कम्पनीले छुट्टाछुट्टै सडक खन्नुपर्ने झन्झट अन्त्य हुनेछ।”
उनका अनुसार अब प्रतिस्पर्धा पूर्वाधारमा नभई सेवाको गुणस्तरमा हुनुपर्नेछ। सरकारले देशका प्रत्येक घरधुरीमा डिजिटल कनेक्टिभिटी पुर्याउने लक्ष्यअनुसार यो कदम महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
