करोडौं ठग्ने दुई जना पक्राउ
काठमाडौं। आकर्षक तलबमा जापान पठाइदिने भन्दै करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा तेह्रथुम घर भई हाल काठमाडौं बस्ने ४० वर्षीय सुरज पंधाक लिम्बु र सोलुखुम्बु घर भई काठमाडौं बस्ने कमलबहादुर पुलामी मगर रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनीहरूले ‘निको प्रोजेक्ट’ अन्तर्गत जापानमा गुम्बा निर्माणका लागि कामदार लैजाने भन्दै २५० जनाभन्दा बढीलाई ठगी गरेको आरोप छ।
प्रहरीका अनुसार प्रतिव्यक्ति १४ लाख रुपैयाँ लाग्ने भन्दै रकम असुल गरी पछि सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्।
हाल पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
