सात जना पक्राउ
काठमाडौं। आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा सात जना पक्राउ परेका छन्।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार जापान, कोरिया र अमेरिकामा उच्च तलबको रोजगारी मिलाइदिने भन्दै ४५ जनाबाट करिब तीन करोड १४ लाख रुपैयाँ ठगी गरेको आरोपमा उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा तेह्रथुमका सुरज लिम्बू, सोलुखुम्बुका कमलबहादुर मगर र सागर शेर्पा, काभ्रेपलाञ्चोकका विनोद थापा, सूर्यप्रसाद कोइराला, सरोज गौतम र प्रल्हाद खत्री रहेका छन्।
प्रहरीका अनुसार लिम्बू र मगरले जापान पठाइदिने भन्दै ११ जनाबाट एक करोड दुई लाख रुपैयाँ असुलेका थिए। त्यसैगरी, थापाले कोरिया पठाइदिने भन्दै २६ जनाबाट एक करोड ५० लाख रुपैयाँ ठगी गरेका छन्।
यस्तै, शेर्पाले फ्रान्स पठाउने भन्दै पाँच जनाबाट २८ लाख रुपैयाँ र गौतमले एक जनाबाट २७ लाख रुपैयाँ असुलेको खुलेको छ।
प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको जनाएको छ।
