`

पाँच वर्षपछि सुकीलाई घरमै ‘नजरबन्द’ मा सार्ने निर्णय, अन्तर्राष्ट्रिय दबाब घटाउने प्रयास ?

Nepal One HD १८ वैशाख २०८३ ११:२५
राजनीति

एजेन्सी।  पाँच वर्षदेखि हिरासतमा राखिएकी म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीलाई सैनिक नेतृत्वले घरमै नजरबन्दमा सार्ने निर्णय गरेको छ।

जुन्ता प्रमुखबाट नागरिक राष्ट्रपति बनेका मिन आङ ह्लाइङले बिहीबार सुकीको बाँकी सजाय ‘तोकिएको निवास’ मा पूरा गर्न दिने आदेश दिएका हुन्। यस निर्णयलाई धेरैले अन्तर्राष्ट्रिय दबाब कम गर्ने रणनीतिका रूपमा व्याख्या गरेका छन्।

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा ८० वर्षीया सुकीको सजायको स्वरूप परिवर्तन गरिएको उल्लेख गरिएको छ, तर उनलाई कहाँ राखिने भन्ने खुलाइएको छैन। सार्वजनिक गरिएको एक तस्वीरमा उनी दुई जना सुरक्षाकर्मीसँग बसेको देखिन्छ।

नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का एक वरिष्ठ स्रोतका अनुसार उनलाई राजधानी नेपिडावको कुनै सुरक्षित स्थानमा राखिएको हुनसक्ने अनुमान गरिएको छ, यद्यपि ठेगाना गोप्य राखिएको छ।

स्थानीय सुरक्षा स्रोतका अनुसार ‘तोकिएको निवास’ पूर्ण रूपमा सुरक्षा निकायको नियन्त्रणमा रहनेछ। सुकीको सजाय कति बाँकी छ भन्नेबारे भने सरकारी पक्ष मौन रहेको छ।

यस निर्णयलाई अन्तर्राष्ट्रिय समुदायले सावधानीपूर्वक स्वागत गरेको छ। संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकले यसलाई ‘विश्वसनीय राजनीतिक प्रक्रियातर्फको सम्भावित संकेत’ भनेका छन्। तर सुकीका वकिलहरूले उनी अझै पनि अन्यायपूर्ण रूपमा स्वतन्त्रताबाट वञ्चित रहेको बताएका छन्।

सन् २०२१ मा भएको म्यानमार सैन्य कू पछि मिन आङ ह्लाइङ नेतृत्वको सेनाले निर्वाचित सरकार अपदस्थ गर्दै सुकीलाई विभिन्न आरोपमा हिरासतमा राखेको थियो। अधिकारवादी समूहहरूले ती आरोपहरूलाई राजनीतिक प्रेरित भएको बताएका छन्।

त्यसयता म्यानमार गृहयुद्धमा फसेको छ।  जसले हजारौँको ज्यान लिएको छ भने लाखौँ नागरिक विस्थापित भएका छन्। हालै सम्पन्न विवादास्पद चुनावपछि बनेको सरकारमाथि पनि सैनिक प्रभाव कायम रहेको आरोप लागिरहेको छ।

विश्लेषकहरूका अनुसार सुकीलाई नजरबन्दमा सार्ने निर्णय अन्तर्राष्ट्रिय छवि सुधार्ने प्रयास हुन सक्छ। उनका छोरा किम एरिसले पनि यसलाई ‘पुरानै शैलीको खेल’ भन्दै आलोचना गरेका छन्।

देशभित्र अझै लोकप्रिय रहेकी सुकी लामो समयदेखि बाह्य सम्पर्कबाट टाढा राखिएकी छन्। परिवारले उनको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै आएको छ।

यसैबीच, मिन आङ ह्लाइङले उनका निकट सहयोगी तथा पूर्वराष्ट्रपति विन मिन्टलाई पनि हालै क्षमादान दिएका छन्, जसलाई राजनीतिक संकेतका रूपमा हेरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *