श्रमिक दिवसमा ओलीले भने – ‘श्रमिकको विश्वव्यापी अधिकार सुनिश्चित हुनुपर्छ’
काठमाडौं। केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राज्यमा मानव गरिमाको रक्षा, श्रमिकको सुरक्षा र सम्मान सुनिश्चित हुनुपर्ने बताएका छन्।
उनले श्रमिकहरूको विश्वव्यापी अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै रोजगारदाता र श्रमिकबीच संवाद, सहकार्य र सहअस्तित्व आवश्यक रहेको उल्लेख गरेका छन्।
ओलीले सन्देशमा आफू सरकारमा रहँदा अपनाइएका नीतिको स्मरण गर्दै लेखेका छन्, ‘हामीले यसअघि सरकारमा रहँदा राज्यको नीति, ‘रोजगारदाता र श्रमिक’बीच संवाद, सहकार्य र सहअस्तित्वको बाटोमा अघि बढायौँ।’
उनका अनुसार उद्देश्य उद्योग सञ्चालन सहज बनाउने, रोजगारी वृद्धि गर्ने, श्रमिकलाई सुरक्षित राख्ने र नाफाको न्यायोचित वितरणमार्फत देशलाई समृद्ध बनाउने थियो।
संविधानले तय गरेको मार्गबाट राज्य विचलित हुन नहुने उनको भनाइ छ। श्रमिक सम्मानित हुने समाज नै समृद्ध हुने उनले सन्देशमा उल्लेख गरेका छन्।
