`

अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण

Nepal One HD १९ वैशाख २०८३ १४:३१
विश्व

एजेन्सी। अमेरिका र इरानबीच चर्किएको द्वन्द्वका क्रममा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य संरचनामा ठूलो क्षति पुगेको एक अनुसन्धानले देखाएको छ।

फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको तनावका क्रममा इरान र उसका सहयोगीहरूले कम्तीमा आठ देशमा रहेका १६ वटा अमेरिकी सैन्य आधारहरूलाई लक्षित गरी आक्रमण गरेको र त्यसबाट व्यापक क्षति पुगेको बताइएको छ। प्रतिवेदनअनुसार तीमध्ये धेरै संरचना गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्, जसका कारण केही आधारहरू लगभग प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन्।

एक संसदीय सहयोगीका अनुसार प्रभावित संरचनाहरू मध्यपूर्वमा रहेका अमेरिकी सैन्य पूर्वाधारको ठूलो हिस्सा हुन्। क्षतिको स्तर भने फरक–फरक रहेको छ। केही आधारहरू पूर्ण रूपमा ध्वस्त भई बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन् भने केहीलाई मर्मतपछि पुनः सञ्चालनमा ल्याउन सकिने अनुमान गरिएको छ।

उपग्रह तस्बिरहरूको विश्लेषणमा इरानले विशेष गरी अमेरिकी उन्नत रडार प्रणाली, सञ्चार उपकरण र हवाई संरचनाहरूलाई लक्षित गरेको देखिएको छ। यी उपकरणहरू अत्यन्त महँगा र सहजै प्रतिस्थापन गर्न नसकिने भएकाले अमेरिकी सैन्य क्षमतामा यसको प्रत्यक्ष असर परेको बताइएको छ।

विशेषज्ञहरूका अनुसार इरानले कम लागतमा अधिक रणनीतिक प्रभाव पार्ने गरी लक्षित आक्रमण गरेको देखिन्छ, जसले अमेरिकालाई ठूलो सुरक्षा र आर्थिक चुनौती दिएको छ। यसबीच अमेरिकी रक्षा निकायका एक उच्च अधिकारीले यो द्वन्द्वका कारण हालसम्म करिब २५ अर्ब डलर बराबरको खर्च भएको बताएका छन्।

यो घटनाक्रमले मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थितिमाथि गम्भीर प्रश्न उठाएको छ र क्षेत्रीय सुरक्षा अवस्था अझ जटिल बन्दै गएको विश्लेषकहरूको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *