नेकपाले मङ्सिरमा महाधिवेशन गर्ने
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो। सो निर्णय शनिबार विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार महाधिवेशनको तयारीस्वरूप साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा विस्तार अभियान सञ्चालन गरिनेछ। त्यसपछि भदौ १५ गतेसम्म वडा अधिवेशन, भदौ १६ देखि मसान्तसम्म पालिका अधिवेशन, असोज मसान्तसम्म जिल्ला अधिवेशन र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ।
त्यस्तै, जेठ मसान्तभित्र केन्द्रदेखि टोल तहसम्मका पार्टी संरचना तथा जनवर्गीय संगठनहरूको एकीकरण र समायोजन पूरा गरिने निर्णय पनि गरिएको छ। पार्टीले वडादेखि केन्द्रसम्मका सबै कमिटीलाई समानुपातिक र समावेशी सिद्धान्तअनुसार गठन गरिने जनाएको छ। नयाँ कमिटीमा अनुभवी, प्रौढ, युवा तथा नवयुवाको प्रतिनिधित्व रहने र युवा सहभागिता ५० प्रतिशतसम्म पुर्याइने उल्लेख गरिएको छ।
नेकपाले संविधान संशोधन सुझावका लागि पनि कार्यदल गठन गरेको छ। उक्त कार्यदलमा देवप्रसाद गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रनध्वज लिम्बू, रेखा शर्मा, गणेश विश्वकर्मा, वरिष्ठ अधिवक्ताद्वय डा. मुक्तिनारायण प्रधान र डा. खिमलाल देवकोटा, अधिवक्ता जगदेव चौधरी, डम्बर बिक्रम कार्की र डा. रामबहादुर चौधरी रहेका छन्।
पार्टी एकीकरणपछि गठन भएको कार्य संयोजन समितिको चैत १९ देखि वैशाख १४ सम्म चलेको बैठकले पार्टीको अन्तरिम विधान २०८२ अनुसार केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने निर्णय समेत गरेको प्रवक्ता ज्वालाले जानकारी दिए।
