रसुवामा चार वटा गुम्बा पुनःनिर्माण सम्पन्न
रसुवा। जिल्लाका विभिन्न भागमा रहेका चार वटा बौद्ध गुम्बा पुनःनिर्माण भएका छन् ।भूकम्पपछिको पुनःनिर्माण कार्यक्रमअन्तर्गत बनाइएका ती गुम्बाले धार्मिक क्रियाकलाप सञ्चालनमा नयाँ ऊर्जा थप्नुका साथै पर्यटन प्रवर्द्धनमा देवा पुग्ने स्थानीयले विश्वास व्यक्त गरेका छन् ।
नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङका अनुसार यसअघि परम्परागत रूपमा फ्ल्याकबाट निर्माण भएका छाना प्रविधि स्लेट, ढुङ्गादेखि जस्तापाता हुँदै अहिले आधुनिक ढलानमार्फत ती संरचना बनाइएको हो । अहिले निर्मित गुम्बा दिगो र सुरक्षित बनेका बताउँदै उहाँले योसँगै नियमित पूजाआजासहित धार्मिक गतिविधि सञ्चालन गर्न सहज वातावरण सिर्जना भएको उल्लेख गर्नुभयो ।
गोसाइँकुण्ड गाउँपालिका-३ अन्तर्गत बृद्विम, लिङ्लिङ र आमाछोदिङ्मो गाउँपालिका-५ ब्रेमदाङमा एक/एक तथा गोसाइँकुण्ड गाउँपालिका-६ सदरमुकाम धुञ्चेमा गरी चार वटा गुम्बा निर्माण गरिएको नागरिक समाजका अध्यक्ष तामाङले जानकारी दिनुभयो । निर्माणमा संलग्न प्राविधिकका अनुसार ग्रामीण भेगका तीनवटै गुम्बा शतप्रतिशत सम्पन्न भइसकेका छन् भने धुञ्चेस्थित टुल्कुछेलिङ गुम्बा निर्माण करिब ९० प्रतिशत पूरा भएको छ ।
जिल्ला आयोजना कार्यान्वयन एकाइ धादिङमार्फत सुरु गरिएको पुनःनिर्माणमा हालसम्म करिब रु ३३ करोड खर्च भएको निर्माण कम्पनीका कार्यस्थल प्रमुख एवं प्राविधिक इञ्जिनियर बुद्धवीर लामाले जानकारी दिनुभयो । नवनिर्मित गुम्बामा नियमित पूजाआजा, बौद्ध दर्शनसम्बन्धी प्रवचन, ध्यान साधना, विवाह (ब्रतबन्ध), छेवर, दिवङ्गत आफन्तको स्मृतिमा जलअर्पण तथा काजक्रियालगायत धार्मिक कार्य सञ्चालन गर्न सकिने स्थानीय भक्तजनले बताएका छन् ।
धुञ्चे गुम्बामा एकैपटक करिब ५०० भन्दा बढी भक्तजन बसेर ध्यान गर्न सक्ने व्यवस्था गरिएको प्राविधिक इञ्जिनियर लामाले उल्लेख गर्नुभयो । यसैबीच गुम्बा निर्माण गुणस्तरीय भएको भन्दै स्थानीय लामा गुरुहरूले प्रशंसा गरेका छन् ।
बौद्ध धर्मग्रन्थमा उल्लेख गरिए अनुसार ‘चित्तको शुद्धिकरण नै मुक्ति प्राप्तिको मार्ग हो’ भन्ने शिक्षालाई व्यवहारमा उतार्ने साधनास्थलका रूपमा गुम्बा स्थापित हुँदै गएका धार्मिक अगुवाहरूको भनाइ छ । बुद्धका उपदेशअनुसार करुणा, मैत्री र सहअस्तित्वको अभ्यास गर्ने स्थानका रूपमा यी गुम्बाले समुदायलाई जोड्ने अपेक्षा गरिएको छ ।
जिल्ला सभाहल पुनःनिर्माण
विसं २०७२ को विनाशकारी भूकम्पले क्षति पुर्याएको धुञ्चेस्थित जिल्ला सभाहलको पुनःनिर्माण सम्पन्न भएको छ । जिल्लास्तरका सभा, सम्मेलन सहज रूपमा सञ्चालन गर्ने उद्देश्यले निर्माण गरिएको सभाहलमा एकैपटक ४०० व्यक्ति अट्ने क्षमता रहेको प्राविधिकले बताएका छन् ।
सिएल कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक छेसिङ्गी लामाका अनुसार करिब रु तीन करोड लागतमा निर्माण सम्पन्न गरिएको उक्त भवन सहरी विकास कार्यालय धादिङमार्फत सुरु गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेले नयाँ सभाहलले प्रशासनिक तथा सामाजिक कार्यक्रम सञ्चालनमा सहयोग पुग्ने बताउनुभयो ।
भूकम्पअघि निर्माण भएका संरचनाभन्दा पछिल्लो समय निर्माण भइरहेका पूर्वाधारहरू गुणस्तरीय, सुरक्षित र दिगो बन्दै गएका स्थानीयको मूल्याङ्कन छ ।धार्मिक सम्पदा संरक्षणसँगै आधुनिक पूर्वाधार विकासले रसुवामा सांस्कृतिक पुनःजागरण र सामुदायिक एकता बलियो हुँदै गएको नागरिक समाजले जनाएको छ ।
