निजी क्षेत्रलाई अनावश्यक डर–त्रासमा नपर्न रविको आग्रह
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निजी क्षेत्रलाई अनावश्यक डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रका प्रतिनिधिसँगको भेटमा उनले सरकार उद्योगी–व्यवसायीलाई हतोत्साहित गर्ने होइन, नीतिगत सुधारमार्फत सुरक्षित, पारदर्शी र स्थिर व्यावसायिक वातावरण निर्माण गर्न प्रतिबद्ध भएको स्पष्ट पारे।
उनका अनुसार सुशासन अभियानलाई प्रभावकारी बनाउन निजी क्षेत्रको सहकार्य अत्यावश्यक छ। विगतमा राजनीतिक अस्थिरता र विविध दबाबका कारण उद्योगी–व्यवसायी शक्तिकेन्द्र धाउन बाध्य भएको वास्तविकता सरकार जानकार रहेको उनले बताए। अब त्यस्तो अवस्थाको पुनरावृत्ति नहुने आश्वासन दिँदै उनले व्यवसायीहरूलाई आत्मविश्वासका साथ आफ्नो काममा केन्द्रित हुन आग्रह गरे।
लामिछानेले अर्थतन्त्रलाई कमजोर बनाउने गतिविधि, संस्थागत भ्रष्टाचार र अनियमितताप्रति राज्य कडाइका साथ निगरानीमा रहने उल्लेख गरे। सुशासन र नीतिगत सुधारका क्रममा केही प्रश्न र जिज्ञासा स्वाभाविक रूपमा उठ्न सक्ने भन्दै उनले त्यसलाई सकारात्मक दृष्टिकोणले लिन आवश्यक रहेको बताए।
उनले सरकार चुनावी घोषणापत्रअनुसार पारदर्शिता, जवाफदेहिता र प्रणाली मजबुतिकरणलाई प्राथमिकतामा राखेर अघि बढिरहेको दाबी गरे। साथै व्यवसायीहरूले आफ्नै कमजोरीहरूको आत्ममूल्यांकन गर्न, आन्तरिक लेखापरीक्षण प्रणाली सुध्र्याउन तथा सुधार यात्रामा सरकारसँग सहकार्य गर्न सुझाव दिए।
लामिछानेले भविष्यमा समस्या लिएर उद्योगी–व्यवसायी राजनीतिक नेताहरूको ढोका ढक्ढक्याउनुपर्ने अवस्था अन्त्य हुँदै जाने विश्वास व्यक्त गर्दै निजी क्षेत्रलाई नडराई, हतोत्साहित नबनिभई आत्मविश्वासपूर्वक व्यवसाय सञ्चालनमा लाग्न आग्रह गरे।
