`

हतियार बेच्दै अमेरिका

Nepal One HD २० वैशाख २०८३ १६:२१
बिशेष

एजेन्सी। इरानमा जारी अमेरिका–इजरायल तनाव र पश्चिम एसियामा बढ्दो युद्ध परिस्थितिका बीच अमेरिकाले आफ्ना सहयोगी राष्ट्रहरूलाई करिब ८ अर्ब ६० करोड डलर बराबरको हतियार बिक्री स्वीकृत गरेको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो निर्णयलाई आपतकालीन अवस्थाका रूपमा उल्लेख गर्दै अमेरिकी कंग्रेसको पूर्व समीक्षा प्रक्रिया बिना नै अघि बढाइएको जानकारी दिएका छन्।

फेब्रुअरी अन्त्यदेखि सुरु भएको भनिएको युद्धपछि इरानले इजरायल र खाडी क्षेत्रका देशहरूमा मिसाइल तथा ड्रोन आक्रमण बढाएको बताइन्छ। त्यसको प्रतिआक्रमणका कारण ती देशहरूको अमेरिकी हतियार भण्डार घट्दै गएको र हवाई रक्षा प्रणालीमाथि दबाब परेको उल्लेख छ।

यसै अवस्थालाई ध्यानमा राख्दै अमेरिका सरकारले सहयोगी राष्ट्रहरूको रक्षा क्षमता मजबुत बनाउन हतियार आपूर्ति तीव्र पारेको बताइएको छ।

सम्झौताअनुसार इजरायललाई करिब ९९ करोड २० लाख डलर बराबरको एडभान्स्ड प्रिसिजन किल वेपन सिस्टम प्रदान गरिनेछ।

त्यसैगरी, कुवेतले २ अर्ब ५० करोड डलरको ब्याटल कमान्ड सिस्टम खरिद गर्नेछ,जसले राडारमार्फत हवाई निगरानी क्षमता बढाउने अपेक्षा गरिएको छ। कुवेतले आफ्नो रक्षा समन्वय प्रणाली सुधार गर्ने लक्ष्य राखेको बताइन्छ।

कतारले करिब ५ अर्ब डलर खर्चेर एडभान्स्ड प्रिसिजन किल वेपन सिस्टम र प्याट्रिओट एयर डिफेन्स सिस्टम पुनः भण्डारण गर्नेछ भने संयुक्त अरब इमिरेट्सलाई १४ करोड ८० लाख डलर बराबरको सोही प्रणाली बिक्री स्वीकृत गरिएको छ।

अमेरिकी विदेश मन्त्रालयले यी सबै निर्णयलाई राष्ट्रिय सुरक्षा हितसँग जोड्दै आपतकालीन परिस्थितिमा गरिएको रणनीतिक कदमका रूपमा व्याख्या गरेको छ।

सामान्य प्रक्रियामा हुने कंग्रेस समीक्षा प्रणालीलाई पछाडि राखेर गरिएको यो निर्णयलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा समेत चासो बढेको बताइन्छ।

यसअघि पनि मार्च महिनामा अमेरिका ले यूएई, कुवेत र जोर्डनलाई करिब १६ अर्ब ५० करोड डलर बराबरको छुट्टै हतियार बिक्री स्वीकृत गरिसकेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *