`

बुढानिलकण्ठबाट ३ जना पक्राउ

Nepal One HD २२ वैशाख २०८३ १३:४०
अपराध

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका–१ घर भई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–९ बस्ने ३१ वर्षीय शक्ति राई, सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–१ घर भई बुढानिलकण्ठ नगरपालिका–११ बस्ने ३९ वर्षीया बिमला दोङ, र सिन्धुपाल्चोककै गोकर्णेश्वर नगरपालिका–५ बस्ने ३१ वर्षीय रोशन तामाङ रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय का अनुसार पक्राउ परेकामध्ये शक्तिले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै एक जनाबाट १ लाख ९५ हजार रुपैयाँ लिएका थिए। त्यस्तै बिमलाले अजरबैजान पठाइदिन्छु भन्दै दुई जना पीडितबाट १३ लाख ६० हजार रुपैयाँ असुलेकी थिइन्।

रोशन तामाङले क्यानडा पठाइदिन्छु भन्दै एक जनाबाट २४ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीपछि उनीहरू पक्राउ परेका हुन्।

प्रहरीले शक्तिलाई बुढानिलकण्ठबाट बिहीबार, बिमलालाई ललितपुरको ग्वार्कोबाट शुक्रबार र रोशनलाई गोकर्णेश्वरबाट शनिबार पक्राउ गरेको जनाएको छ।

पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *