युएईको आक्रमणमा तीन भारतीय घाइते भएपछी भारत उग्र
काठमाडौं। संयुक्त अरब इमिरेट्सको फुजैराह क्षेत्रमा भएको आक्रमणप्रति भारतले कडा आपत्ति जनाएको छ। भारतले उक्त आक्रमणलाई ‘पूर्णतः अस्वीकार्य’ भन्दै यस्ता गतिविधि तत्काल रोक्न माग गरेको हो।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आक्रमणमा तीन भारतीय नागरिक घाइते भएको पुष्टि गर्दै घटनालाई गम्भीर रूपमा लिइएको उल्लेख गरिएको छ।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भनेका छन्, ‘यो पूर्णतः अस्वीकार्य छ। हामी यस्ता आक्रमणहरू तत्काल बन्द गर्न र सर्वसाधारण नागरिक तथा उनीहरूका अत्यावश्यक संरचनामाथि लक्षित आक्रमण नगर्न आग्रह गर्दछौं।’
जयसवालका अनुसार भारतले पश्चिम एसियामा शान्ति र स्थिरता कायम गर्न सधैं वार्ता र कूटनीतिक उपायलाई समर्थन गर्दै आएको छ। उनले अन्तर्राष्ट्रिय कानुनअनुसार होर्मुज जलडमरूमध्य हुँदै हुने ढुवानी तथा व्यापार निर्बाध रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिएका छन्।
यसअघि युएईको रक्षा मन्त्रालयले सोमबार इरानबाट प्रहार गरिएका केही क्षेप्यास्त्रहरू आफ्नो रक्षा प्रणालीले अवरोध गरेको दाबी गरेको थियो। उक्त घटनामा तीन जना घाइते भएको विवरण सार्वजनिक गरिएको छ।
