सरकार भन्छ -‘पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन’
काठमाडौं । बजारमा इन्धनको मूल्य घटाउन सरकारमाथि चर्को दबाब बढिरहेका बेला सरकारले भने मूल्य घटाउने सम्भावना तत्काल नरहेको स्पष्ट पारेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले अन्तर्राष्ट्रिय आपूर्ति र मूल्य संरचनाका कारण सरकारले चाहेर पनि पेट्रोलियम पदार्थ सस्तो बनाउन नसक्ने बताएका हुन्।
मंगलबार संघीय संसदअन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले इन्डियन आयल कर्पोरेशनले निर्धारण गरेको मूल्यअनुसार इन्धन खरिद गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे।
‘महँगोमा किन्ने र सस्तोमा बेच्ने अवस्था छ जसले गर्दा अघिल्लो सञ्चित नाफा पनि सकिइसकेको छ,’ उनले भने।
सरकारले हाल खाना पकाउने ग्यास र पेट्रोलजस्ता इन्धनमा अझै पनि घाटा व्यहोरेर बिक्री गरिरहेको दाबी गर्दै उनले पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गरिए मूल्य अझै बढ्ने चेतावनी दिए। उपभोक्तालाई थप मार नपरोस् भनेर नै सरकारले मूल्यलाई कृत्रिम रूपमा तल राखेर व्यवस्थापन गरिरहेको उनको भनाइ छ।
सचिव राउतका अनुसार लगातार घाटामा रहेको नेपाल आयल निगमले आफ्ना कर्मचारीलाई बोनस दिन सक्ने अवस्था पनि छैन। ‘तीन वर्षसम्म लगातार नाफा भए मात्रै बोनस वितरण गर्न पाइन्छ तर अहिले निगम नाफामा छैन,’ उनले स्पष्ट पारे।
