`

युक्रेनमा रुसको आक्रमण : २६ जनाको मृत्यु, ८० बढी घाइते

Nepal One HD २३ वैशाख २०८३ १२:०२
विश्व

काठमाडौं। रूसले युक्रेनका विभिन्न सहरमा गरेको ड्रोन र मिसाइल आक्रमणमा २६ जनाको मृत्यु भएको छ। किएभमा युद्धविराम लागू हुनुअघि र मस्कोले घोषणा गरेको लडाइँ रोक्ने योजनाभन्दा तीन दिनअघि भएको यस भीषण आक्रमणमा ८० भन्दा बढी घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

मंगलबार दिउँसो, रूसी ग्लाइड बमहरूले पूर्वी सहर क्रामातोर्स्क, दक्षिणपूर्वी जापोरिज्झिया र उत्तरी चेर्निहिभलाई निशाना बनाएको बताइएको छ। जापोरिज्झियामा मात्र कम्तीमा १२ जनाको ज्यान गएको र दर्जनौँ घाइते भएको प्रान्तीय गभर्नर इभान फेदोरोभले जानकारी दिएका छन्।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमण प्रभावित स्थानहरूमा उद्धार कार्य जारी रहेको बताए। उनले रूसी हवाई बमहरूले सहरको केन्द्रमै प्रहार गर्दै सर्वसाधारणलाई लक्षित गरेको स्पष्ट पार्दै यो ‘अत्यन्त निन्दनीय आतंकी आक्रमण’ भएको टिप्पणी गरे। जेलेन्स्कीका अनुसार, यस्तो हिंसा अन्त्य गर्न रूसलाई युद्ध रोक्न बाध्य पारिनु आवश्यक छ।

युक्रेनको राज्य ऊर्जा कम्पनी नाफ्टोगाजका प्रमुख सेरही कोरेत्स्कीले पनि ठूला क्षति पुगेको उल्लेख गर्दै भने, ‘हामीले ठूलो भौतिक क्षति र उत्पादन हानी बेहोरेका छौँ। यो संयुक्त आक्रमण थियो, जसमा अनम्यान्ड एरियल भेहिकल (ड्रोन) र ब्यालिस्टिक मिसाइल दुवै प्रयोग गरिएको थियो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *