‘एमआरपी’को भुइँचालो : भन्सारमा ४ सय बढी ट्रक अलपत्र
विराटनगर। विराटनगरस्थित रानीमा रहेको एकीकृत भन्सार जाँच चौकीमा ४ सयभन्दा बढी मालवाहक ट्रक अलपत्र परेका छन्।
तयारी वस्तु आयातमा भन्सार विन्दुमै अधिकतम बिक्री मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने नयाँ नियम लागू भएपछि मालवस्तु लिएर आएका ट्रकहरू रोकिएका हुन्।
सरकारले तयारी वस्तुमा अनिवार्य रूपमा अधिकतम बिक्री मूल्य तोक्ने व्यवस्था लागू गरेपछि पछिल्लो आठ दिनदेखि सीमामा ट्रकहरू जाँचपास हुन नसकेका हुन्।
यस कारण अर्बौँ रुपैयाँ बराबरका उपभोग्य तथा औद्योगिक सामग्रीहरू अलपत्र परेका छन्।
भन्सार विभागले वैशाख १६ गते निर्देशन जारी गर्दै औद्योगिक कच्चा पदार्थ, मेसिनरी उपकरण र छिटो नष्ट हुने वस्तुका लागि ‘स्वघोषणा’ गर्न सकिने लचिलो व्यवस्था प्रस्ताव गरेको थियो। तर उक्त प्रस्तावलाई प्रधानमन्त्री तहबाट अस्वीकार गरिएपछि वैशाख १५ गतेदेखि सुरु भएको समस्या अझ जटिल बनेको बताइएको छ।
आयातित ट्रकहरूमा सौन्दर्य सामग्री, तयारी पोसाक, खाद्यान्न, बिउबिजन, टायर तथा अन्य दैनिक उपभोग्य वस्तुहरू रहेका छन्।
लामो समयसम्म सामान खुला स्थानमा रोकिँदा गुणस्तरमा असर पर्ने र बजारमा अभाव सिर्जना भई मूल्यवृद्धि हुन सक्ने व्यवसायीहरूले बताएका छन्।
विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार माथिल्लो निकायबाट स्पष्ट निर्देशन नआएसम्म एमआरपी नभएका वस्तुहरूको जाँचपास गर्न नसकिने अवस्था रहेको छ।
