सरकारको निर्देशनपछि नयाँ कार्यालयको खोजीमा एमाले
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको नाममा रहेको भवन खाली गर्न सरकारले सूचना जारी गरेपछि नेकपा एमाले नयाँ कार्यालयको खोजीमा जुटेको छ।
भूमि व्यवस्था मन्त्रालयले भोगाधिकार मात्र प्राप्त तर लिजमा परिणत नभएको जग्गा खाली गर्न निर्देश दिएपछि च्यासलस्थित एमाले कार्यालय पनि खाली गर्नुपर्ने अवस्था आएको हो।
०७८ सालदेखि एमाले त्यसै भवनमा बसेको थियो। ०७२ को भूकम्पपछि बल्खुस्थित पार्टी कार्यालय भत्किएपछि केही समय धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानमा पार्टी गतिविधि सञ्चालन गरिएको थियो। तर चक्रपथ विस्तारका क्रममा त्यहाँबाट हट्नुपर्ने भएपछि एमाले थापाथली सर्यो। व्यापारीको घरमा बसेको भन्दै विवाद बढेपछि पार्टी कार्यालय च्यासल पुगेको थियो।
च्यासलमा बसेको बेला पार्टी कार्यकर्ताबाट रकम संकलन गरी नयाँ कार्यालय निर्माणका योजना बनाइए पनि त्यो प्रक्रिया रोकियो। पछि व्यवसायी मीनबहादुर गुरुङले कीर्तिपुरमा १० रोपनी जग्गासहित करिब एक अर्बको भवन निर्माण गरी उपलब्ध गराउने प्रस्ताव गरेपछि २०८१ असोजमा एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले शिलान्याससमेत गरेका थिए।
तर उक्त कार्यालय पनि विवाद बढेपछि बनाउन रोकिएको थियो।
