सासूको हत्या : बुहारी पक्राउ
रुपन्देही। प्यूठानमा सासूको हत्या गरेको आरोपमा सौतेनी बुहारी पक्राउ परेकी छन्। स्वर्गद्वारी नगरपालिका–६ डाँडाखर्ककी ६३ वर्षीया धनीकुमारी सुनार २०७९ मंसिर १ गते मृत अवस्थामा फेला परेकी थिइन्।
धनीकुमारी टाउकोमा गम्भीर चोट लागेको अवस्थामा छिमेकीको बारीमा मृत भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको थियो।
प्यूठान प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार सुरुवाती चरणमा घटनामा संलग्न व्यक्ति खुल्न नसकेपछि अनुसन्धान जारी राखिएको थियो। पछिल्लो अनुसन्धानबाट सौतेनी कान्छी बुहारीको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको उनले बताए।
प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई नियन्त्रणमा लिएको जनाएको छ। हाल उनीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार प्यारालाइसिसबाट थलिएकी सासूको रेखदेख गर्नुपर्ने झन्झटका कारण हत्या गरिएको आशंकासहित प्रहरीले मुद्दा अघि बढाएको जनाएको छ।
