भन्सार विभागद्वारा ‘टिआइभी डिक्लेरेसन’ पोर्टल सञ्चालनमा
काठमाडौं । भन्सार विभाग ले व्यापार सहजीकरणलाई थप आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाल राष्ट्रिय एकल द्वार प्रणालीअन्तर्गत टिआइभी डिक्लेरेसन पोर्टल कार्यान्वयनमा ल्याएको छ ।
विभागको सूचना प्रविधि प्रणाली विकास शाखाले सूचना जारी गर्दै नयाँ पोर्टल सञ्चालनमा आएको जानकारी दिएको हो ।
भन्सार विभागको मिति २०८३/०१/१७ गतेको निर्णयअनुसार यो प्रणाली लागू गरिएको हो । यसअघि परम्परागत रूपमा गरिँदै आएका कार्यहरूलाई अब डिजिटल माध्यमबाट छिटो र छरितो बनाउन यो पोर्टलले सहयोग पुग्ने विश्वास विभागले लिएको छ ।
यो व्यवस्थासँगै अब सरोकारवालाहरूले टिआइभी सम्बन्धी घोषणाहरू उक्त पोर्टलमार्फत अनलाइनबाटै गर्न सक्नेछन् ।
नयाँ व्यवस्था अनुसार सेवाग्राहीले टिआइभी डिक्लेरेसनका साथै त्यसबापतको भुक्तानी पनि म्यानुअल वा ई–पेमेन्ट दुवै प्रक्रियाबाट गर्न सक्ने सुविधा मिलाइएको छ ।
विभागले सबै भन्सार कार्यालयहरू तथा तोकिएका मातहतका निकायहरूलाई यो प्रणाली नियमित रूपमा सञ्चालन गर्न निर्देशनसमेत दिएको छ ।
सेवाग्राहीको सहजताका लागि विभागको आधिकारिक वेबसाइट भन्सार विभाग मा टिआइभी मोड्युलको लिंक उपलब्ध गराइएको छ ।
