`

१०९ ठूला ऋणीको नाम सार्वजनिक, जीबी र रवि मुछिएका सहकारीको सूची अझै आएन

Nepal One HD २५ वैशाख २०८३ १७:०९
अर्थ समाचार

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले दोस्रो चरणमा समस्याग्रस्त सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको छ । ‘ठूला ऋणीहरूको नामावली प्रकाशन–२’ शीर्षकमा समितिले ११ वटा सहकारी संस्थासँग सम्बन्धित १०९ जना ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको हो ।

यसअघि समितिले २३ वैशाख २०८३ मा पहिलो चरणअन्तर्गत १० वटा समस्याग्रस्त सहकारीका ८७ जना ठूला ऋणीहरूको विवरण सार्वजनिक गरेको थियो ।

दोस्रो चरणमा सार्वजनिक गरिएका सहकारी संस्थाहरूमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड, प्यासिफिक सेभिङ एन्ड इन्भेष्टमेन्ट को-अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेका छन् ।

त्यस्तै स्टाण्डर्ड सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड तथा लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ठूला ऋणीहरूको नामसमेत सार्वजनिक गरिएको समितिले जनाएको छ ।

यसबीच, जीबी राई तथा रवि लामिछानेसँग जोडिएका चर्चित सहकारी संस्थाका ठूला ऋणीहरूको नाम भने अझै सार्वजनिक गरिएको छैन । ती सहकारीहरूको विवरण कहिले सार्वजनिक हुन्छ भन्नेबारे समितिले औपचारिक जानकारी दिएको छैन ।

सहकारी ठगी प्रकरणमा पछिल्लो समय विभिन्न सहकारी संस्थाका सञ्चालक, ऋणी र सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको छ । बचतकर्ताको रकम फिर्ता गराउने दबाब बढिरहेका बेला समितिले चरणबद्ध रूपमा ठूला ऋणीहरूको विवरण सार्वजनिक गर्न थालेको हो ।

समस्याग्रस्त सहकारी संस्थाका ठूला ऋणीहरूको नाम


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *