‘१२ गाउँ २’को सुटिङ सुरु, समीर भट्टसँग काफियाको डेब्यू
काठमाडौं। डेब्यू फिल्म ‘१२ गाउँ’बाट चर्चामा आएका नायक समीर भट्टले त्यसैको सिक्वेल ‘१२ गाउँ २’को सुटिङ सुरु गरेका छन् । नायक बिराज भट्टका छोरा समीरसँग यस फिल्ममा डेब्यू नायिका काफिया शाहीले स्क्रिन सेयर गर्नेछिन् ।
फिल्म वितरण क्षेत्रमा सक्रिय गोबिन्द शाहीकी छोरी काफियाको यो पहिलो फिल्म हो । बिराज भट्ट र गोबिन्द शाहीबीच लामो समयदेखि सहकार्य र निकट सम्बन्ध रहँदै आएको छ । त्यसकै प्रभावस्वरूप काफियाले ‘१२ गाउँ २’मार्फत नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेको चर्चा छ ।
बिराज भट्टकै निर्देशनमा बन्न लागेको यो एक्सन जनराको फिल्मको छायांकन काठमाडौं, सिन्धुपाल्चोक र चितवनमा गरिने निर्माण पक्षले जनाएको छ । फिल्ममा बिराज भट्ट, समीर भट्ट, काफिया शाहीसँगै अनुपबिक्रम शाही र वर्षा इटानीको पनि मुख्य भूमिका रहनेछ ।
फिल्मलाई आगामी दसैँको अवसर पारेर प्रदर्शन गर्ने तयारी गरिएको छ । सन्तोष सरकारले फिल्मको कथा तथा पटकथा लेखेका हुन् ।
‘१२ गाउँ’बाट समीर भट्टले एक्सन हिरोको रूपमा दर्शकमाझ राम्रो चर्चा कमाएका थिए । त्यसैले ‘१२ गाउँ २’प्रति पनि दर्शकको चासो बढिरहेको देखिन्छ । नयाँ अनुहार काफिया शाहीको प्रवेशले फिल्मलाई थप चर्चा दिलाउने अपेक्षा गरिएको छ ।
