रास्वपा सांसद हुन थाले निष्क्रिय : प्रशिक्षणमा बालेनको खोजी, आशिकामाथि कारबाही
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा न्यून उपस्थिति देखिएपछि पार्टीभित्रै प्रश्न उठ्न थालेको छ।
शनिवारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रममा केही सांसदहरू अनुपस्थित रहने, अन्तिम समयमा मात्रै पुग्ने वा सकेसम्म सहभागिता कम गर्ने प्रवृत्ति देखिएको चर्चा छ। यसले पार्टी नेतृत्वले सञ्चालन गर्ने यस्ता कार्यक्रमप्रति सांसदहरूको रुचि घट्दै गएको जस्तो देखिने रास्वपाका एक नेताले बताए।
रास्वपाले सांसदहरूको व्यक्तित्व विकास, संसदीय क्षमता अभिवृद्धि तथा राजनीतिक संस्कार निर्माण गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिरहेको छ । कार्यक्रममा संसदीय समितिमा हुने छलफल, संसदमा प्रस्तुत हुने शैली, संसदीय मर्यादा, जिम्मेवारी, दायित्व तथा विषयगत बहसबारे प्रशिक्षण दिइने बताइएको छ।
पार्टीका अनुसार सांसदहरूलाई आत्ममूल्यांकन, सिकाइ, अनुभव आदान-प्रदान तथा भविष्यको राजनीतिक अभ्यासबारे अभिमुखीकरण गराउने लक्ष्य राखिएको छ।
शनिवारदेखि सुरु भएको प्रशिक्षण आइतवारसम्म चल्ने छ। समापन सत्रलाई पार्टी सभापति रवि लामिछाने सम्बोधन गर्नेछन्।
यद्यपि, पार्टी संसदीय दलका नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह कार्यक्रममा सहभागी हुने वा नहुने विषय भने सार्वजनिक गरिएको छैन।
उक्त कार्यक्रमका सन्दर्भमा रास्वपा सांसद आशिका तामाङ ले प्रशिक्षण कार्यक्रम फाइभ स्टार होटलमा आयोजना गरिएको विषयमा सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरिन्। सामाजिक सञ्जालमार्फत उनले सिंहदरबारभित्र पर्याप्त सभाहल हुँदाहुँदै महँगा होटलमा कार्यक्रम गर्नु आवश्यक थियो वा थिएन भन्ने प्रश्न उठाएकी हुन् ।
उनले भनेकी छन्, ‘सांसदहरूलाई प्रशिक्षण कार्यक्रम वा अभिमुखीकरण गर्न फाइभ स्टार होटल नै रोज्नुपर्ने कुनै बाध्यता पक्कै होइन होला। सिंहदरबारमा त्यस्ता सभाहल कति छन् कति। बाहिर किन आखिर? बाहिर दिनको कति खर्च लाग्छ, त्यसको लेखाजोखा कसले गर्ने?’
आशिकाले आफूहरू परिवर्तनको राजनीति र फजुल खर्चविरुद्ध बोल्ने तर व्यवहारमा पुरानै शैली दोहोरिने हो भने नयाँ र पुरानाबीच फरक नदेखिने टिप्पणीसमेत गरेकी छन्।
उनको यो अभिव्यक्तिपछि पार्टीले उनलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ।
वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा आज साँझ ६ बजे बस्ने बैठकमा आन्तरिक अनुशासन र अनुशासनात्मक कारबाहीसम्बन्धी प्रस्तावहरूमा समेत समीक्षा हुने जनाइएको छ।
यता, प्रशिक्षण कार्यक्रममा देखिएको न्यून उपस्थितिले भने रास्वपा संसदीय दलको आन्तरिक अनुशासन, प्रभावकारिता र सांसदहरूको सक्रियतामाथि प्रश्न उठ्न थालेका छन्।
