खड्कासहित ११ जना पक्राउ
काठमाडौं। देशका विभिन्न ठाउँबाट लागुऔषधसहित ११ जना पक्राउ परेका छन्। चितवन, मकवानपुर, मोरङ, ताप्लेजुङ र बारामा गरिएको छुट्टाछुट्टै कारबाहीमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
चितवन, भरतपुर महानगरपालिका-९ स्थित काँडाघारी टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २०० ट्याब्लेटसहित ३ जनालाई बुधबार दिउँसो पक्राउ गरिएको हो। पक्राउ पर्नेमा २५ वर्षीय पुजन दराई, २६ वर्षीय प्रवेश गुरुङ र २९ वर्षीय सन्तोष गुरुङ रहेका छन्। प्रहरी चौकी गोन्द्राङबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
त्यस्तै मकवानपुर, हेटौँडा उपमहानगरपालिका-११ थानाभर्याङबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६०० मिलिग्रामसहित २६ वर्षीय नैनुदिन अन्सारीलाई पक्राउ गरिएको छ। उनलाई अस्थायी प्रहरी पोष्ट थानाभर्याङले पक्राउ गरेको हो।
मोरङ, पथरीशनिश्चरे नगरपालिका-४ मिलन चोकबाट ट्रामाडोल ५८६ ट्याब्लेट र स्पास्पेन ६०० ट्याब्लेटसहित २ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा २७ वर्षीय बासुदेव खड्का र २५ वर्षीय दुर्गा बहादुर खड्का रहेका छन्। थप अनुसन्धानका क्रममा सोही स्थानका २२ वर्षीय निकेस माझी पनि पक्राउ परेका छन्।
यसैगरी ताप्लेजुङ, फुङलिङ नगरपालिका–२ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ १६० मिलिग्रामसहित ३ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा २० वर्षीय ज्ञानेन्द्र लिम्बु, २० वर्षीय यमराज लिम्बु र २० वर्षीय जगत श्रेष्ठ रहेका छन्।
त्यस्तै बारा, निजगढ नगरपालिका–११ रतनपुरबाट ५ किलो ४१० ग्राम गाँजा जस्तो देखिने पदार्थसहित २० वर्षीय धर्मराज रामलाई पक्राउ गरिएको छ। उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सबै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
